एनआईसी एशिया बैंकले दुई सामुदायिक विद्यालयलाई सहयोग गर्‍यो शैक्षिक सामग्री



बिजमाण्डू
२०८३ असार १७ गते १२:४९ | Jul 1, 2026
एनआईसी एशिया बैंकले दुई सामुदायिक विद्यालयलाई सहयोग गर्‍यो शैक्षिक सामग्री

काठमाडौं। एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका २ सामुदायिक विद्यालयलाई शैक्षिक तथा अन्य सामग्री सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले डोटीस्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा सिन्धुपाल्चोकस्थित जन जागृति माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको हो।

डोटीको बगर वायलस्थित केआई सिंह गाउँपालिका-४ मा रहेको सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुन्छ। विद्यालयमा हाल ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

उक्त विद्यालयमा बाबुआमा गुमाएका तथा सीमान्तकृत २१ जना विद्यार्थीलाई आवासीय सुविधा सहित खानबस्नको व्यवस्था गरिएको छ। विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले बैंकले वाटर डिस्पेन्सर सहयोग गरेको जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा बैंकको दिपायल शाखाका प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए।

यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ जन जागृति माध्यमिक विद्यालयलाई पनि बैंकले शैक्षिक सामग्री सहयोग गरेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीको प्रविधिमा पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो।

मंगलबार आयोजित कार्यक्रममा बैंकको इएसजी एण्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल तथा बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका-१२ का वडा अध्यक्ष दीपेन्द्र प्रसाद नेपाल र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

बैंकका अनुसार यस सहयोगले विद्यार्थीको पठनपाठनलाई थप सहज बनाउनुका साथै विद्यालयमा प्रविधिमैत्री सिकाइ वातावरण विकास गर्न टेवा पुग्ने विश्वास लिइएको छ।