काठमाडौं। रोपाइँका लागि अभाव हुन नदिन कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ।
मन्त्रालयले किसानले अभाव झेल्नु नपरोस् भनेर आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको बताएको छ।
मन्त्रालयका अनुसार जीटुजी सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल साउन दोस्रो साता नेपाल आइपुग्नेछ। जीटूजीमार्फत ८० हजार मेट्रिक टन मल ल्याउन सम्झौता भएको थियो।
यस्तै टेन्डरमार्फत विभिन्न मुलुकबाट १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयातको प्रक्रियामा छ। त्यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया मल हो।
मन्त्रालयले यस वर्ष हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ।
मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन यूरिया मल ओमनमा लोडिङको प्रक्रियामा छ। त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज हुँदै विशाखापटनम बन्दरगाहमा आइपुगेकामा २० गतेसम्म नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।
यस्तै अर्को ३० हजार मेट्रिक टन यूरिया मल लोड भइसकेको र साउन अन्तिमसम्म नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। कृषि सामग्री कम्पनीका अनुसार ३० हजार मेट्रिक टन यूरिया मल कतारबाट सिपमेन्ट भइसकेकामा असार अन्तिमसम्म कोलकत्ता आइपुग्ने छ।
यस्तै ३० हजार मेट्रिक टन यूरिया मल साउदी अरेबियाबाट ल्याउन लोड भइसकेको छ। त्यो मल असार अन्तिम सातासम्म कोलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनीले जनाएको छ। ३० हजार मेट्रिक टन डीएपी मल भियतनामबाट लोड भई साउन दोस्रो सातासम्म नेपाल भित्रिने छ।









