भारतमा टाटा मोटर्सले बहुप्रतीक्षित टाटा सिएरा विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरुवाती मूल्य १८ लाख ७९ हजार भारु तोकेको छ।
गाडीको बुकिङ सुरु भइसकेको छ भने ग्राहकलाई आगामी जुलाई १५ देखि डेलिभरी गरिने कम्पनीले जनाएको छ।
यो एसयूभी कम्पनीको नयाँ विद्युतीय सवारी प्लेटफर्ममा आधारित छ। यो गाडी ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताको ब्याट्रीसहित दुई विकल्पमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार ठूलो ब्याट्री भएको संस्करणले एक पटक फुल चार्ज गर्दा अधिकतम ६६५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यो गाडी ब्याक ह्विल ड्राइभ तथा फोर ह्विल ड्राइभ दुवैमा उपलब्ध हुनेछ। १२० किलोवाट क्षमताको द्रुत चार्जिङ सुविधामार्फत करिब २५ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
सिएरा विद्युतीय एसयूभीमा तीनवटा डिजिटल स्क्रिन, चालक सहायक आधुनिक सुरक्षा प्रणाली, ठूलो रुफ, उत्कृष्ट साउन्स सिस्टम, हावा आउने सिट, वायरलेस मोबाइल चार्जर, हावा शुद्धीकरण प्रणाली तथा अत्याधुनिक जडान प्रविधि जस्ता फिचर छन्।
कम्पनीले यस गाडीको ब्याट्रीमा आजीवन वारेन्टी दिने घोषणा गरेको छ, जुन यस वर्गका विद्युतीय सवारीमध्ये विशेष आकर्षणका रूपमा हेरिएको छ।
सिएरा विद्युतीय एसयूभी सार्वजनिक भएसँगै टाटा मोटर्सले भारतको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।








