आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द, सामुदायिक वनमा भने नरोकिने



बिजमाण्डू
२०८३ असार १७ गते ०७:१२ | Jul 1, 2026
आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द, सामुदायिक वनमा भने नरोकिने

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा बुधबारदेखि बन्द हुने भएको छ। निकुञ्जले बर्सातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो।

Tata
GBIME
Nepal Life

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो।

उनले भने, ‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स-साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ।’

निकुञ्जले हरेक वर्ष बर्सातको समयमा सफारी बन्द गर्दै आएको छ। बर्सातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ।

निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए।

चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। रासस