संसदीय मर्यादाबारे सांसदहरुलाई तालिम, सभामुखले भने- जनताले नियालिरहेका छन्, जिम्मेवार बनौं



बिजमाण्डू
२०८३ असार १५ गते १३:१४ | Jun 29, 2026
संसदीय मर्यादाबारे सांसदहरुलाई तालिम, सभामुखले भने- जनताले नियालिरहेका छन्, जिम्मेवार बनौं

काठमाडौं। सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्यास, कानुन निर्माणको विधि लगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

Tata
GBIME
Nepal Life

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।

संसद् सचिवालयका पूर्वमहासचिव भरतराज गौतमले संसदीय मर्यादा, प्रक्रिया र अभ्यास, पूर्वसचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रिया र संसद् सचिवालयका पूर्वसचिव ध्रुवराज घिमिरेले संसदीय समिति प्रणाली र संसदीय निगरानीबारे प्रशिक्षण दिने तालिका छ।

दुई दिने अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै सभामुख डीपी अर्यालले सांसदहरुले आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट नियालिरहेकाले जिम्मेवार हुन आग्रह गरेका हुन्।

उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्नुपर्ने उल्लेख गर्दै अध्ययनशील र प्रविधिमैत्री हुन सुझाव दिए।

‘अहिले प्रतिनिधि सभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु।’