टेलिकमको सेवामा देखिएको गुणस्तरको समस्या समाधान गर्न हुवावेलाई सञ्चारमन्त्रीको निर्देशन

बिजमाण्डू
२०८३ असार ४ गते १७:४२ | Jun 18, 2026
टेलिकमको सेवामा देखिएको गुणस्तरको समस्या समाधान गर्न हुवावेलाई सञ्चारमन्त्रीको निर्देशन


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवामा देखिएको गुणस्तरको समस्या समाधान गर्न चिनियाँ कम्पनी हुवावेलाई निर्देशन दिएका छन्।

Vigo
GBIME
Tata

उनले बिहीबार हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको टोलीलाई टेलिकमको सेवामा देखिएका समस्या तत्काल समाधान गर्न भनेका हुन्।

‘नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन। यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ। पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिने गरी काम गर्नुहोला,’ तिमिल्सिनालाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकममा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताए। ‘नेपाल टेलिकमको सेवाबारे नागरिकका धेरै गुनासो छन्। प्राविधिक समस्या टेलिकम र हुवावेले समन्वयात्मक रुपमा तत्काल समाधान गर्नुपर्छ,’ उनले भने।

हुवावेले टेलिकमको नेटवर्क विस्तार, मर्मत सम्भार लगायतमा प्रमुख साझेदारको रुपमा काम गर्दै आएको छ।