आयातित वस्तुको मूल्य घटबढ गरेर सम्पत्ति शुद्धीकरण, गाडीका पार्टपुर्जाको मूल्य शंकास्पद!



बिजमाण्डू
२०८३ असार १ गते १६:४५ | Jun 15, 2026
आयातित वस्तुको मूल्य घटबढ गरेर सम्पत्ति शुद्धीकरण, गाडीका पार्टपुर्जाको मूल्य शंकास्पद!
कोलकत्ता बन्दरगाह

काठमाडौं। सम्पत्ति शुद्धीकरणका लागि अन्तर्राष्ट्रिय व्यापारको दुरुपयोग गर्ने क्रम बढेको नेपाल राष्ट्र बैंकको वित्तीय सूचना ईकाई (एफआईयू)को अध्ययनले देखाएको छ।

Tata
GBIME
Nepal Life

एफआईयूले अन्तर्राष्ट्रिय व्यापार प्रणाली दुरुपयोग गरी हुने सम्पत्ति शुद्धीकरणलाई प्रमुख जोखिमका रूपमा पहिचान गरेको छ। एफआईयूले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अपराधमा संलग्नहरुले व्यापारिक कारोबारलाई माध्यम बनाएर अवैध रकमलाई वैध देखाउने प्रयास गर्ने गरेका छन्।

यसका लागि वस्तुको मूल्य बढी वा कम देखाउने, नक्कली ढुवानी विवरण तयार गर्ने, व्यापारिक कागजातको दुरुपयोग गर्ने तथा कारोबारको वास्तविक प्रकृति लुकाउने जस्ता गतिविधि हुने गरेका छन्।

भारत र चीनसँग हुने व्यापारिक कारोबारमा यस्तो जोखिम तुलनात्मक रूपमा धेरै रहेको एफआईयूको विश्लेषण छ। विशेषगरी बहुमूल्य धातु, उपभोग्य वस्तु तथा सवारीसाधनका पार्टपुर्जासम्बन्धी कारोबारमा मूल्य असमानता र शंकास्पद गतिविधिको सम्भावना देखिएको छ।

एफआईयूले सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधको जोखिम नयाँ स्वरूपमा विस्तार हुँदै गएको बताएको छ। अन्तर्राष्ट्रिय व्यापारको दुरुपयोगका साथै अनलाइन सट्टेबाजी, डिजिटल भुक्तानी प्रणाली र भर्चुअल सम्पत्तिको प्रयोगमार्फत हुने अवैध आर्थिक गतिविधि वित्तीय प्रणालीका लागि थप चुनौती बन्दै गएको एफआईयूको निष्कर्ष छ।

एफआईयूले आफ्नो प्रतिवेदनमा वित्तीय अपराधमा संलग्नहरुले परम्परागत माध्यमसँगै प्रविधिको प्रयोग गरेर अवैध रकम लुकाउने, तहगत रूपमा घुमाउने र वैध स्रोतबाट आएको जस्तो देखाउने प्रयास गर्न थालेको उल्लेख गरेको छ।

प्रविधिको विस्तारसँगै नेपालमा अनलाइन सट्टेबाजी पनि वित्तीय अपराधको नयाँ माध्यमका रूपमा देखिएको एफआईयूले जनाएको छ।

अनलाइन बेटिङ नेपालमा कानुनीरूपमा प्रतिबन्धित भए पनि विदेशबाट सञ्चालन हुने विभिन्न प्लेटफर्महरूले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा वैकल्पिक लिंकमार्फत नेपाली प्रयोगकर्तासम्म पहुँच बनाइरहेको प्रतिवेदनमा उल्लेख छ।

एफआईयूका अनुसार बैंकिङ प्रणालीमा निगरानी बढ्दै गएपछि केही अवैध नेटवर्कले भर्चुअल सम्पत्ति (क्रिप्टोकरेन्सी) प्रयोग गर्न थालेका छन्। क्रिप्टोमार्फत सीमापार रकम स्थानान्तरण गर्न सकिने भएकाले यस्ता कारोबार पहिचान र नियन्त्रण नियामक तथा वित्तीय संस्थाका लागि चुनौती बनेको छ।

एफआईयूले डिजिटल कारोबारको निगरानी गर्दा ठूलो रकमका कारोबार मात्र नभई साना-साना कारोबारको समूहगत विश्लेषण, खाता नेटवर्कको अध्ययन र कारोबार गर्ने व्यक्तिको व्यवहारगत विश्लेषण आवश्यक रहेको औंल्याएको छ।

प्रतिवेदनअनुसार वित्तीय अपराध पहिचानमा बैंकिङ क्षेत्र प्रमुख स्रोत बनेको छ। सन् २०२५ मा विभिन्न रिपोर्टिङ संस्थाबाट प्राप्त ८ हजार ९२० वटा शंकास्पद कारोबारमध्ये एफआईयूले वाणिज्य बैंकबाट आएका ६ हजार ६५८ वटा कारोबारको अध्ययन गरेको थियो।

एफआईयूले अनुसन्धान तथा कारबाहीका लागि विभिन्न निकायबाट प्राप्त वित्तीय सूचनामध्ये सबैभन्दा धेरै ८९२ वटा नेपाल प्रहरीलाई उपलब्ध गराएको छ।

एफआईयूले डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाँदा वित्तीय अपराध नियन्त्रणका लागि प्रविधिमा आधारित निगरानी प्रणाली, अन्तर निकाय समन्वय र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको बताएको छ।

व्यापारिक र डिजिटल माध्यमबाट हुने जोखिम नियन्त्रण गर्नका लागि एफआईयूले थप सतर्कता अपनाउनुका साथै प्रभावकारी निगरानी गर्न सुझाव दिएको छ।