पटनामा कोचिङ सेन्टर चलाएरै करोडपति बनेका खान सर, राज्य नै लाग्दा कसरी परे फन्दामा?



हेम रोकाहा
२०८३ जेठ ३१ गते १६:२७ | Jun 14, 2026
पटनामा कोचिङ सेन्टर चलाएरै करोडपति बनेका खान सर, राज्य नै लाग्दा कसरी परे फन्दामा?

प्रविधिको युगमा कोही व्यक्तिको ‘राइज’ र ‘डाउनफल’का लागि केही एउटा विषय भाइरल बने पुग्छ। सामाजिक संजालको अलगोरिदम र इकोचेम्बरहरूले नै कसैलाई एकैछिनमा हिरो बनाउँछ कसैलाई खलपात्र। त्यस्तै, दृश्य केहीदिन अघि देखियो भारतमा।

Tata
GBIME
Nepal Life

खान सर! सोसल मिडिया र विशेष गरेर युट्युब चलाउनुहुन्छ भने धेरैलाई यो नाम थाहा हुनुपर्ने हो। केही साताअघि धेरैले उनको वास्तविक नाम थाहा पाए – फैसल खान।

भारतका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारी सस्तो, सहज र बुझ्न सजिलो बनाइदिएका कारण उनी विद्यार्थीहरूबीच लोकप्रिय बने। आफ्नो कोचिङ प्लेटफर्म र युट्युब कक्षामार्फत उनले इतिहास, समसामयिक घटना, भूगोल, विज्ञान तथा सरकारी जागिरसम्बन्धी परीक्षाका विषयहरूलाई सरल र रोचक तरिकाले गरे।

विहारका ‘खान सर’को यात्रा मुसल्लाहपुर क्षेत्रमा रहेको किसान कोल्ड स्टोरेजबाट सुरु भएको हो। जहाँ लामो समयदेखि कोचिङ सेन्टरहरू संचालनमा थिए र यसलाई एक हिसाबले क्याम्पसकै रुपमा लिइएको थियो। सन् २०१८-१९ सम्म त्यहाँ करिब २० वटा कोचिङ संस्थाहरू संचालनमा थिए। त्यही बीचमा उनको ‘खान ग्लोबल स्टडिज’ पनि थियो।

कोभिड-१९ महामारीपछि धेरै कोचिङ संस्थाहरू बन्द भए। त्यस समयसम्म खान सरले भने लोकप्रियता कमाइरहेका थिए।

उनको पढाउने शैली हास्य, दैनिक जीवनका उदाहरण, स्थानीय बोलीचाली र रमाइला कथाहरूले भरिएका हुन्छन्। यही कारण विशेषगरी साना सहर र आर्थिक रूपमा सामान्य परिवारका विद्यार्थीहरूले कठिन लाग्ने विषयहरू पनि सजिलै बुझ्न सके। परम्परागत कक्षाकोठाभन्दा फरक र आत्मीय शैलीका कारण विद्यार्थीहरू उनीसँग छिट्टै जोडिन्थे।

सामाजिक संजालमा उनको लोकप्रियता चरममा थियो। धेरैले उनलाई ‘राष्ट्रवादी शिक्षक’को उदाहरणका रूपमासमेत प्रस्तुत गर्थे।

यसकारण पनि कि उनी पाकिस्तानमाथि व्यंग्यात्मक टिप्पणी गर्थे। उनका ती भिडियोहरू लाखौंले हेर्थे। मूलधारका मिडिया र सत्तापक्ष समर्थक समूहहरूबाट पनि उनले प्रशंसा पाउँथे।

समयसँगै पढाइ सँगसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे आफ्ना विचार र विश्लेषण पनि साट्न सुरु गरे। ती भिडियोहरू पनि सामाजिक संजालमा भाइरल भए। यसले उनको लोकप्रियता अझ बढायो।

खान सरको पहिचान बदल्ने घटना

भनिन्छ, राजनीति र लोकप्रियताको संसारमा मौसम बदलिन धेरै समय लाग्दैन। अझ सामाजिक संजालको एकोहोरो अलगोरिदममा त फिटिक्कै पनि सकिँदैन। त्यस्तै भयो खान सरको जिन्दगीमा पनि।

उनले यही वर्ष भारतको ‘नीट’ परीक्षा विवादबारे भिडियो बनाए। नीट परीक्षाको प्रश्नपत्र लिक र विद्यार्थी आन्दोलनको विषयमा आवाज उठाउन थालेपछि खान सर फेरि चर्चामा आए। उनले विद्यार्थीहरूको पक्षमा बोल्न थाले। शिक्षक समुदायका अन्य चर्चित अनुहारहरू पनि आन्दोलनसँग जोडिए।

त्यसपछि उल्टियो अलगोरिदम। र, उनी भारतमा बढ्दो इकोचेम्बरको दलदलमा फसे।

नीट पेपर लिक भएको घटनामा विपक्षी दलसँगै विद्यार्थी र सामाजिक अभियन्ताले प्रश्न उठाउन थाले। सरकारको विरोध गर्नेहरूविरुद्ध लाग्ने इकोचेम्बर एकाएक खान सरको पनि पछि लाग्यो।

सोही क्रममा भारतको आजतक टेलिभिजनमा कार्यरत पत्रकार अञ्जना ओम कश्यपको टिप्पणीले तरंग पैदा गर्‍यो। उनले अनलाइन शिक्षकहरूलाई ‘दुई कौडीका टिचर’ भनेपछि खान सर लगायत केही चर्चित शिक्षकहरू प्रतिवादमा उत्रिए। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आयो। उनीहरूले ‘गोदी’ मिडियाले जायज मुद्दालाई मोड्ने कोसिस गरिएको आरोप लगाए।

घटनाक्रमले नयाँ मोड लियो, जब जुन २ को राति पटनाको मुसल्लाहपुर क्षेत्रमा रहेको खान सरको कोचिङ सेन्टर खान ग्लोबल स्टडिजबाहिर हिंसात्मक घटना भयो।

Photo: PTI

घटनाक्रमले नयाँ मोड लियो, जब जुन २ को राति पटनाको मुसल्लाहपुर क्षेत्रमा रहेको खान सरको कोचिङ सेन्टर खान ग्लोबल स्टडिजबाहिर हिंसात्मक घटना भयो। केही व्यक्तिहरूले कोचिङ सेन्टरमा ढुंगामुढा र तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

घटनापछि सार्वजनिक भएको भिडियोमा कोचिङका दुई सुरक्षा गार्डले हावामा गोली चलाएको देखिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। प्रहरीले यस घटनासँग सम्बन्धित मुद्दामा खान सरविरुद्ध पनि एफआईआर दर्ता गर्‍यो। आरोप अनुसार उनले गोली चलाउन उक्साएको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरिएको थियो।

उक्त घटनामा खान सरका प्रतिद्वन्द्वी तथा ज्ञान बिन्दु जीएस एकेडेमीका संचालक रौशन आनन्द पक्राउ परे। अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको छ।

यी दुई पक्षबीच वर्षौंदेखि आरोप, प्रत्यारोप, तोडफोड र हिंसात्मक घटनाहरू भइरहेका थिए। एकअर्कामाथि आक्रमण गराएको, विद्यार्थी तथा होस्टल समूहलाई प्रयोग गरेको जस्ता आरोपहरू दुवै पक्षले लगाउँदै आएका छन्। सामाजिक सञ्जालदेखि कक्षाकोठासम्म एकअर्कालाई अप्रत्यक्ष रूपमा आलोचना गर्ने क्रम पनि लामो समयदेखि चलिरहेको थियो।

स्थानीय विद्यार्थीहरूका अनुसार खान ग्लोबल अनलाइन शिक्षामा निकै प्रभावशाली छ भने ज्ञान बिन्दुको अफलाइन उपस्थिति बलियो छ। यही कारण दुवै संस्थाबीच विद्यार्थी, प्रतिष्ठा र बजारमाथिको वर्चस्वका लागि तीव्र प्रतिस्पर्धा देखिन्छ।

राजनीतिक प्रतिशोध?

घटनापछि दर्ता भएको एफआईआरमा खान सरको नाम पनि जोडेर विभिन्न कानुनी धाराअन्तर्गत अनुसन्धान अघि बढाइएपछि उनका समर्थकहरूले भने यो सबै प्रतिशोधको राजनीति भएको आरोप लगाएका थिए।

वर्षौंसम्म ‘खान सर’ भनेर चिनिएका व्यक्ति अचानक धेरै समाचार र पोस्टहरूमा ‘फैसल खान’ बन्न थाले। उनका आलोचकहरूले उनको वास्तविक नामलाई अगाडि ल्याउन थाले। समर्थकहरूले भने यसलाई धार्मिक पहिचान जोडेर गरिने राजनीतिकरणको उदाहरणको रुपमा व्याख्या गरे।

अञ्जना ओम कश्यप र उनको संस्थाले खान सर लगायत केही शिक्षक तथा युट्युब च्यानलविरुद्ध मानहानी मुद्दा दायर गरे। जसमा करोडौं रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ। अदालतमा उक्त मुद्दा विचाराधीन छ।

त्यतिले मात्रै नपुगेर खान सरको कोचिङ सेन्टरमा अग्नि सुरक्षासम्बन्धी अनियमितता भएको भन्दै नोटिस पनि जारी गरिएको छ। समर्थकहरूले यसलाई दबाबको अर्को रूप भनेका छन्। प्रशासनले भने नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ।

सतहमा हेर्दा, यो घटना बिहारका दुई ‘कोचिङ किङ’बीचको व्यावसायिक दुश्मनीको परिणाम जस्तो देखिने दी प्रिन्टले उल्लेख गरेको छ। तर, वास्तविकतामा, यसले विगत ६ वर्षदेखि खडा गरिएको एउटा भ्रम विस्तारै भत्किन सुरु भएको संकेत गरेको सो समाचारमा उल्लेख छ।

साना सहरका भारतीय युवाहरूका लागि शिक्षालाई सर्वसुलभ बनाउँदै उनीहरूको सरकारी जागिरको सपना पूरा गरिदिने एक ‘युवा आइकन’को रुपमा सावधानीपूर्वक निर्माण गरिएको छवि थियो खान सरको। उनी यस्ता व्यक्ति बनिसकेका थिए जसलाई कसैले रोक्न सक्दैनथ्यो, अहिलेसम्म पनि।

‘खान ग्लोबल स्टडिज’का फैसल खान र ‘ज्ञान बिन्दु’का रौशन आनन्दबीचको यो खतनपतन पटनाको कोचिङ उद्योगको अर्थशास्त्रमा जोडिएको दी प्रिन्टमा उल्लेख छ। दुवैले आफूलाई गरिब र जेहेन्दार विद्यार्थीका ‘मसिहा’का रूपमा प्रस्तुत गर्दै आएका छन्।

असाधारण परीक्षाफलको दाबी गरेर शिक्षण विधिको साथसाथै आफ्नो व्यक्तित्वको बलमा उनीहरू टिकेका छन्। यी दुईबीच विगतमा पनि कयौं पटक विवाद भएका थिए। तर, स्थिति यो स्तरसम्म कहिल्यै उग्र बनेको थिएन।

खान सरको ‘नेटवर्थ

खान सरको कुल सम्पत्ति सार्वजनिक छैन। तर, पनि विभिन्न अनलाइन माध्यममा उनको सम्पत्ति ५० करोडदेखि १०० करोड भारुको बीचमा रहेको मानिने प्रिन्टले उल्लेख गरेको छ। विभिन्न सामाजिक संजाल तथा डिजिटल प्लेटफर्महरूमा उनका झण्डै ५ करोड सब्सक्राइबरहरू छन् र उनले विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि कोचिङ कक्षाहरू संचालन गर्ने गर्छन्।

उनको व्यावसायिक नेटवर्कको आकार हेर्दा उनले खडा गरेको साम्राज्यको सहजै अनुमान लगाउन सकिने बताइन्छ। इन्स्टिच्युटको आधिकारिक वेबसाइटका अनुसार पटनामा १८ महिनाको अफलाइन ‘बीपीएससी फाउन्डेसन’ ब्याचको शुल्क, ब्याच र पढाइ हुने माध्यम हेरी १५ हजार देखि २० हजार भारुसम्म पर्छ। यूपीएससी अझै पनि यस संस्थाको सबैभन्दा महँगो कोर्समध्ये एक हो। हालैका रिपोर्टहरू अनुसार यसको ‘जीएस फाउन्डेसन’ कार्यक्रमको शुल्क ६९ हजार ५०० देखि ७९ हजार ५०० भारुको बीचमा छ।

यसैगरी, पटनामा ‘नीट-जी’ फाउन्डेसन कोर्सको शुल्क करिब १४ हजार ९९९ भारु तोकिएको छ।

औसत कोर्स शुल्क न्यूनतम १५ हजार देखि २० हजार भारु मात्र मान्ने हो भने पनि एकपटक भर्ना अभियान चल्दा संस्थाको अफलाइन ब्याचबाट मात्रै १५ करोडदेखि २० करोड भारुसम्मको राजस्व उठ्ने देखिन्छ।

यसमा यूपीएससी जस्ता प्रिमियम कोर्स, अनलाइन क्लास, एप सब्सक्रिप्सन र टेस्ट सिरिजबाट हुने आम्दानी समावेश गरिएको छैन। यो अनुमान केवल १० हजार विद्यार्थी संख्यालाई आधार मानेर गरिएको प्रिन्टमा उल्लेख छ। यससँगै खान सरको सबैभन्दा बढी आम्दानी अनलाइन विद्यार्थी र युट्युब हुने बताइन्छ।

उनले पटनामा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरेर ‘लो-कस्ट’ अस्पताल पनि संचालनमा ल्याएका छन्। उक्त अस्पतालमा निकै न्यून शुल्कमा महँगा उपचार तथा परीक्षणहरू गर्न सकिने बताइएको छ।

राज्यलाई प्रश्न गर्दाको मूल्य

खान सरको कथा केवल एउटा कोचिङ सेन्टरमा मात्रै सीमित छैन। उनको आम्दानी र पहुँच पनि जहिलै चर्चाको विषय रह्यो। उनको विवाहमा विहालका प्रमुख दलका शीर्ष नेता नै पुगेका थिए।

बढ्दो आम्दानी र पहुँच बीच पछिल्लोपटक नीट पेपर लिकमा उनले दिएको राजनीतिक अभिव्यक्ति नै उनी पक्राउ पर्नु र फैसल खानका रुपमा चिनाइनु मुख्य कारण रहेको बताइन्छ।

उनीहरूका अनुसार यो प्रश्न सोध्नेहरूको अवस्थाबारे एउटा ठूलो बहस हो। सत्ता, मिडिया, अदालत, सामाजिक सञ्जाल र जनमत कसरी एकअर्कासँग जोडिन्छन् भन्ने बहस भएको उनीहरूको तर्क छ।

आलोचकहरू भन्छन्- कानुनले आफ्नो काम गरिरहेको छ। समर्थकहरू भन्छन्- प्रश्न सोध्नेहरूलाई निशाना बनाइँदैछ।

केही समयअघि राष्ट्रिय मिडियाको प्रिय अनुहार बनेका खान सर आज विवाद, मुद्दा र राजनीतिक बहसको केन्द्रमा छन्। राज्यविरुद्ध प्रश्न उठाउँदाको परिणाम उनले भोगिरहेका छन्।

यो घटनापछि भारतमा एउटा पुरानो प्रश्न फेरि उठिरहेको छ- सत्ता मन पराउने कुरा बोल्दा ताली बज्छ, तर सत्ता असहज हुने प्रश्न सोध्दा के हुन्छ?