काठमाडौं। व्यवसायी इलन मस्क विश्व इतिहासमै पहिलो पटक ‘ट्रिलियनियर’ व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार सम्मको सम्पत्ति १० खर्ब अमेरिकी डलर भन्दा बढी पुगेको हो।
अमेरिकी सेयर बजार ‘नास्डाक’ मा मस्कको रकेट कम्पनी ‘स्पेसएक्स’को सेयर कारोबार खुलेसँगै उनको सम्पत्तिले यो नयाँ उचाइ छोएको हो।
फोर्ब्सका अनुसार बिहीबार स्पेसएक्सले आफ्नो प्रारम्भिक सेयरको मूल्य प्रतिसेयर १३५ डलर तोकेको थियो। यससँगै मस्कको सम्पत्ति एकैदिन १८८ अर्ब डलरले बढेको थियो। शुक्रबार बजार खुल्दा कम्पनीको सेयर मूल्य थप बढेर प्रतिसेयर १५० डलर पुगेपछि मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन डलर (११ खर्ब डलर) पुगेको हो। बिहीबारसम्म मस्कको सम्पत्ति ९८२ अर्ब डलर थियो।
स्पेसएक्स कम्पनीको कुल बजार मूल्य पनि झन्डै २० खर्ब डलर पुगेको छ। मस्क स्पेसएक्स कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र मुख्य प्राविधिक अधिकृत हुन्। उनीसँग स्पेसएक्सको ४ अर्ब ८० करोड सेयर छ, जसको मूल्य ७१५ अर्ब डलर हुन्छ।
यसबाहेक मस्कसँग ५० अर्ब डलर बराबरको थप सेयर खरिद गर्न पाउने विशेष अधिकार छ। मस्कसँग स्पेसएक्स कम्पनीको ३८ प्रतिशत सेयर हिस्सा छ। यसको कुल मूल्य मात्रै ७६५ अर्ब डलर हुन आउने फोर्ब्सले उल्लेख गरेको छ।











