जिज्ञासा राख्दा अर्थमन्त्री वाग्लेले धम्कीपूर्ण अभिव्यक्ति दिए, मबाटै छानबिन सुरु होस् : वर्षमान पुन



बिजमाण्डू
२०८३ जेठ २९ गते १२:३५ | Jun 12, 2026
जिज्ञासा राख्दा अर्थमन्त्री वाग्लेले धम्कीपूर्ण अभिव्यक्ति दिए, मबाटै छानबिन सुरु होस् : वर्षमान पुन

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगै आफूमाथि पनि छानबिन गर्नुपर्ने भए तयार रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद बैठकमा पुनले कार्यकारीको कामबारे प्रश्न उठाएकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै वाग्लेमाथि छानबिन हुनुपर्ने बताएका हुन्।

बुधबार र बिहीबार सांसदहरुले संसदमा प्रस्तुत भइसकेको आर्थिक विधेयकमा संशोधन गरी आफूखुसी करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिमित गठनको माग गरेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले आफूमाथि प्रश्न उठाउनेहरुका पुराना फाइल खोल्ने अभिव्यक्ति दिएका दिए।

त्यसतर्फ इंगित गर्दै पुनले यसअघि बजेट ल्याएका अर्थमन्त्रीमाथि छानबिन गर्न र सुरु आफूबाट गर्न माग गरेका हुन्। आफूले दुई आर्थिक वर्ष अगाडि अर्थमन्त्रीका रुपमा बजेट ल्याएको भन्दै उनले त्यतिबेलाको छानबिन गर्ने भए आफू तयार रहेको बताए।

‘अर्थमन्त्रीले गत वर्ष ७३ वटाको हेरफेर भयो, यो पटक मैले ७ वटाको हेरफेर गरें भनेर खुलमखुला भन्नुभएको छ। ७३ होस् वा एउटा होस्। अपराध भनेको अपराध नै हो,’ पुनले भने, ‘दुई वर्ष अगाडि म पनि पुरानो हुँ। मैले पनि बजेट ल्याएको थिएँ। मेरो पालाको पनि छानबिन होस्, गत वर्षको पनि छानबिन होस्। म तयार छु।’

अर्थमन्त्री वाग्लेले सातवटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुला स्वीकार गर्नुलाई पुनले आर्थिक अपराधको संज्ञा दिए।

‘हामीले अपराध गर्न भनेका थिएनौं। जिज्ञासा राखेका थियौं। तर, उहाँले धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ गर भन्नुभयो। अर्थमन्त्रीबाट संसदको मानहानी भएको छ। समामुख महादयले यसमा रुलिङ गर्नुपर्छ, छानबिन हुनुपर्छ। यसप्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय। खुलमखुला उहाँले स्वीकार्नुभयो रोष्ट्रमबाट यो रेकर्ड छ’, पुनले भने।

विगतमा पनि सानातिना प्राविधिक कमजोरी सुधार गर्ने गरिएको चर्चा गर्दै उनले मन्त्रिपरिषदले गर्नुपर्ने संशोधन अर्थमन्त्रीले गर्न नसक्ने स्पष्ट गरे।

‘सरकार सँधै बहुमतमा हुन्छ। जरुरी पर्दा क्याबिनेटले हेरफेर गरेर फेरि संसदलाई जानकारी गराउने प्रक्रिया पनि छ। यसको अर्थले केही चलाउनै पाइँदैन, हल्लाउनै पाइँदैन। सिद्धियो भन्ने कुरा होइन। तर, ड्यु प्रोसेस फलो गर्नुपर्छ। अझ हिजो प्रश्न उठाउनेलाई तिम्रा के छ, फाइल खुल्दैछ। खास गरेर मेरैदेखि छानबिन होस भन्दैछु । यो पुराना र नयाँको विषय होइन, पद्धतिको विषय हो, नैतिकताको विषय हो। संसदको सर्वोच्चताको विषय हो। नयाँ साथीहरु नयाँ भावनासहित आउनुभएको छ । हिजोकाले गरे त्यसैले मैले पनि गरें भन्न पाइँदैन,’ उनले भने।