काठमाडौं। फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक राष्ट्र मेक्सिकोले विजयी सुरुवात गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो एज्टेकामा आज सम्पन्न उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले हराउँदै मेक्सिकोले विजयी सुरुवात गरेको हो। खेलभर आक्रामक देखिएको मेक्सिकोले दुवै हाफमा एक-एक गोल गर्दै तीन अंक हात पारेको हो। खेलअवधिभर रेफ्रीले समान ३ रेडकार्ड र यल्लो कार्ड दिए।
घरेलु समर्थकमाझ खेलेको मेक्सिकोले खेलको नवौं मिनेटमै अग्रता बनाएको थियो। एरिक लिराको पासमा जुलियन किनोनेसले गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्न सफल भए। सुरुआती गोलपछि मेक्सिकोले खेलमा पकड कायम राख्दै दक्षिण अफ्रिकालाई दबाबमा राख्यो।
पहिलो हाफ १–० ले अगाडि रहेको मेक्सिकोका लागि दोस्रो हाफ अझ सहज बन्यो। ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका याया सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै मेक्सिकोले ६७औँ मिनेटमा अग्रता दोब्बर बनायो। रोबर्टो अल्भाराडोको क्रसमा अनुभवी फरवार्ड राउल जिमिनेजले हेडमार्फत गोल गर्दै स्कोर २–० पुर्याए।
दक्षिण अफ्रिकालाई अर्को झड्का थेम्बा ज्वानेले रेडकार्ड पाएपछि लाग्यो। आक्रामक बनेका उनलाई ८४ औँ मिनेटमा रेफ्रीले रेडकार्ड दिँदा दक्षिण अफ्रिका ९ खेलाडीमा झरेको थियो।
इन्जुरी समयमा मेक्सिकोले पनि एक खेलाडी गुमायो। डिफेन्डर सेजार मोन्टेसले रातो कार्ड पाएर मैदान छाडे। तर, त्यसबेलासम्म खेलको नतिजा लगभग तय भइसकेको थियो।
विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको उद्घाटन खेलमा जित निकाल्दै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। यही समूहमा दक्षिण कोरिया र चेकिया पनि रहेका छन्।
यो खेलले १६ वर्षअघिको विश्वकप उद्घाटन खेलको सम्झना पनि ताजा गराएको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उद्घाटन खेल पनि मेक्सिको र दक्षिण अफ्रिकाबीच नै भएको थियो। त्यसबेला भने खेल १–१ को बराबरीमा सकिएको थियो। यसपटक भने मेक्सिकोले घरेलु मैदानमा स्पष्ट जित निकाल्न सफल भयो।
आजै हुने अर्को खेलमा चेकिया र दक्षिण कोरियाबीच हुनेछ। यो खेल बिहान पौने ८ बजे सुरु हुनेछ।











