काठमाडौं। नेपाल-भारत सीमा विवाद सम्बन्धमा दुई महिनापछि प्राविधिक समितिको बैठक हुने भएको छ। जोइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक आगामी अगष्टमा हुने भएको हो।
प्रतिनिधि सभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिकले दुई महिनादेखि फिल्ड सर्भे गर्ने काम गरिरहेको जानकारी दिए।
‘हाल चारवटा टोली गठन भइ नेपाल-भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ। यी संयुक्त टोलीले दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनको लगत तयार पार्ने काम गरिरहेका छन्,’ खनालले भने, ‘जोइन्ट फिल्ड सर्भे टिमले दुई महिनादेखि विभिन्न स्थानमा काम गरिरहेको छ। यस संयन्त्रले दिइएको जिम्मेवारी अनुसार सीमा स्तम्भको मर्मत, हराएका स्तम्भको पुनर्स्थापना गर्ने काम गरिरहेको छ।’
मन्त्री खनालका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तामा नक्सांकन हुन बाँकी। ‘त्यसबाहेक अन्य केही ठाउँमा दशगजा अतिक्रमण र क्रसबोर्डर अकुपेसनको समस्या छ,’ उनले भने, ‘यस सम्बन्धमा जोइन्ट कमिटीबाट प्रतिवेदन आउन बाँकी छ।’
मन्त्री खनालले सीमा विवाद कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको बताए। उनले जेठ २२ देखि २४ सम्म भारत भ्रमण गरी त्यहाँका विदेशमन्त्री डा. एस जयशंकरसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए।









