कोन्ज्योसोम भ्रमण वर्ष २०८३ सुरु : धार्मिक, कृषि र पर्यावरणीय पर्यटनमा जोड



बिजमाण्डू
२०८३ जेठ २४ गते १४:२४ | Jun 7, 2026
कोन्ज्योसोम भ्रमण वर्ष २०८३ सुरु : धार्मिक, कृषि र पर्यावरणीय पर्यटनमा जोड

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गाउँपालिकाका पर्यटकीय क्षेत्र चिनाउन भ्रमण वर्ष सुरु गरेको छ। शनिबार गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोन्ज्योसोम क्षेत्र घुम्न पुगेकाहरुलाई ब्याज बाँडेर भ्रमण वर्ष सुरु गरेका हुन्।

Tata
GBIME
Nepal Life

गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यका साथ भ्रमण वर्ष सुरु गरिएको अध्यक्ष लामाले बताए।

‘कोन्ज्योसोममा हिन्दु धर्मावलम्बीका लागि पाथीभरा मन्दिरदेखि बौद्धमार्गीको लागि कोन्ज्योसोम प्रतिमा रहेको छ,’ अध्यक्ष लामाले भने, ‘कृषि पर्यटनदेखि जलवायुमैत्री ठाउँहरु पनि प्रशस्तै छन्।’

वर्षभर चल्ने भ्रमण वर्षमा नल्लुमा रहेको पाथीभरा, भारदेउमा रहेको बलेश्वरी देवी र कुन्नेदवी मन्दिर, चौघरेमा रहेको चिया बगान, बीउ बैंक, कोन्ज्योसोममा रहेको कोन्ज्योसोम प्रतिमा, कोन्ज्योसम झरना, गुप्तेश्वर गुफा, संखुमा रहेको छ्योर्तेनलाई आकर्षक रुपमा राखिएको छ। यसैगरी गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यसमेत राखेको छ।

यो क्षेत्रमा जलवायु मैत्री कृषिमार्फत सेलेरीपत्तादेखि विभिन्न किसिमका साग उत्पादन केन्द्रसमेत रहेको कोन्ज्योसोम पर्यटक विकास समितिको सदस्य सचिव सीता लामाले बताइन्।

‘कृषि पर्यटनका लागि चौघरेमा रहेको बीउ बैंकसमेत उदाहरणीय रहेको र यो क्षेत्रमा रहेको चिया बगानले काठमाडौं नजिकै दार्जिलिङको झल्को दिन्छ,’ लामाले भनिन्, ‘छिनछिनमै बादल आउने र हराउनुका साथै काठमाडौं उपत्यका प्रष्ट देखिने भएकोले पछिल्लो समय यो ठाउँ पर्यटकको रोजाई बनेको छ।’

सातदोबाटोबाट करिब ३० किलोमिटरको दुरीमा रहेको दलचोकी सामुदायिक बीउ बैंकमा हरेक हावापानीका लागि काम लाग्ने बीउहरु रहेको कोन्ज्योसोम गाउँपालिका वडा ३ का अध्यक्ष तिलक बहादुर बोम्जनले बताए।

‘चिसो ठाउँदेखि गर्मी ठाउँसम्म काम लाग्ने बीउ यहाँ पाइन्छ। पुरानो बीउ बैंक हो,’ बम्जनले भने।

गाउँपालिकाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न पुगेकी पथप्रदर्शन निला राईले यो क्षेत्रमा सडकको सुधारका साथै होटल तथा होमस्टे सुविधा थपिए काठमाडौं वरपरका पर्यटनको आकर्षक थलो बन्ने बताइन्।

‘ट्राउट माछा यही पाइने रहेछ। काठमाडौंबाट २५ किलोमिटर ड्राइभिङ गरेपछि यहाँ आइपुगिने रहेछ। रोड अलि राम्रो बनाइदिए र खानेबस्ने ठाउँको बन्दोबस्ती राम्रो भए विकिन्ड मनाउनले यो ठाउँ मनपराउने देखियो,’ पथप्रदर्शक राईले भनिन्।

वडा ३ स्थित दलचोकीमा हालै सेल्फी डाँडा निर्माणको क्रममा रहेको र यहाँबाट काठमाडौं उपत्यका देखिने गाउँपालिकाका प्रवक्ता तीर्थबहादुर घलानले बताए।

‘पाथीभरा मन्दिर दर्शन गरी एकै दिन गाउँपालिकाका धेरैजस्तो तीर्थ स्थल घुम्न सकिन्छ,’ वडा ४ का अध्यक्षसमेत रहेका घलानले भने।

गाउँपालिकाको नल्लुमा रहेको पाथिभरा मन्दिर, भारदेउमा रहेको १७ झ्याले ट्राउट फार्म, कोन्ज्योसोम प्रतिमा र कोन्ज्योसोम झरनामा हिजोआज पर्यटकको घुँइचो लाग्ने घलानले बताए।