विश्वकप फुटबलको तयारी भइरहँदा अमेरिकामा हस्पिटालिटी क्षेत्रमा रोजगारी बुम



बिजमाण्डू
२०८३ जेठ २४ गते १२:२९ | Jun 7, 2026
विश्वकप फुटबलको तयारी भइरहँदा अमेरिकामा हस्पिटालिटी क्षेत्रमा रोजगारी बुम

विश्वकप फुटबल प्रतियोगिताको तयारीका बीच अमेरिकामा मे महिनामा १ लाख ७२ हजार नयाँ रोजगारी सिर्जना भएको छ। विशेषगरी पब, बार तथा रेस्टुरेन्टहरूले विश्वकपका दर्शकहरूको चाप व्यवस्थापन गर्न कर्मचारी भर्ना बढाएपछि रोजगारीमा उल्लेख्य वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

अमेरिकी श्रम तथ्यांक ब्युरो (बीएलएस)का अनुसार नयाँ रोजगारीमध्ये अधिकांश आतिथ्य तथा मनोरञ्जन, स्थानीय सरकार र स्वास्थ्य सेवा क्षेत्रमा सिर्जना भएका छन्। यस वर्षको विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्।

न्यूयोर्क सिटीको डाउनटाउनस्थित ‘द रेड लायन’ पब तथा रेस्टुरेन्टका संचालक रेहान आलमले विश्वकप सुरु हुनुअघि ७ जना अतिरिक्त बारटेन्डर नियुक्त गरेको बताएका छन्। ४ वर्षअघि कतारमा विश्वकप हुँदा व्यवसायमा अप्रत्यासित भीड लागेको स्मरण गर्दै उनले यसपटक नजिकैको न्यू जर्सीमा खेलहरू हुने भएकाले अझ ठूलो व्यापारिक अवसर आउने अपेक्षा व्यक्त गरे।

आलमका अनुसार रेस्टुरेन्टमा ७ वटा नयाँ टेलिभिजन जडान गरिएको छ, साउन्ड सिस्टमको स्तरोन्नति गरिएको छ र कर्मचारी संख्या पनि उल्लेख्य रूपमा बढाइएको छ। उनले इरान-इजरायल युद्धपछि ऊर्जा लगायतका खर्च अत्यधिक बढेकाले विश्वकपबाट प्राप्त हुने अतिरिक्त आम्दानी व्यवसायका लागि अत्यन्त आवश्यक भएको बताए।

बीएलएसका अनुसार मे महिनामा मात्र आतिथ्य तथा मनोरञ्जन क्षेत्रमा ७० हजार रोजगारी थपिएको छ। अघिल्लो वर्षको मासिक औसत १४ हजार मात्रै थियो। यसमध्ये खानपान तथा पेय पदार्थसम्बन्धी व्यवसायले मात्रै ४८ हजार रोजगारी सिर्जना गरेका छन्।

बढ्दो लागतका बावजुद अमेरिकी अर्थतन्त्रले अपेक्षाभन्दा बढी रोजगारी सिर्जना गरिरहेकाले अर्थशास्त्रीहरू समेत आश्चर्यचकित भएका छन्। विश्लेषकहरूले मे महिनामा १ लाख ५ हजार रोजगारी थपिने अनुमान गरेका थिए। तर, वास्तविक संख्या १ लाख ७२ हजार पुगेको छ। साथै, मार्च र अप्रिल महिनाको रोजगारी तथ्यांक पनि संयुक्त रूपमा ९३ हजारले बढेको छ।

यद्यपि, विश्वकपका कारण रोजगारी बढे पनि प्रतियोगितापछि अपेक्षित आर्थिक लाभ नआउने चिन्ता व्यक्त गरिएको छ। होटल व्यवसायीहरूले बुकिङ अपेक्षाभन्दा कम रहेको बताएका छन् भने महँगो टिकटका कारण धेरै समर्थक प्रतियोगिताबाट टाढिन बाध्य भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अमेरिकाले जुन महिनामा पाराग्वेसँग खेल्ने खेलको टिकट मूल्य १ हजार डलर पुगेको विषयमा टिप्पणी गर्दै ‘म पनि यति महँगो टिकट किन्ने थिइनँ’ भनेका छन्।

फिफामाथि टिकट मूल्य कृत्रिम रूपमा बढाएको र समर्थकलाई भ्रममा पारेको आरोप लागेको छ। यस सम्बन्धमा न्यूयोर्क र न्यू जर्सीका महान्यायाधिवक्ताले अनुसन्धान सुरु गरेका छन्। फिफाले भने अनुसन्धानबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

ब्याजदर वृद्धिको सम्भावना

अर्थशास्त्रीहरूका अनुसार अपेक्षाभन्दा बलियो रोजगारी तथ्यांकले सन् २०२६ को अन्त्यसम्म ब्याजदर बढ्न सक्ने सम्भावना बलियो बनाएको छ। यद्यपि, तलब वृद्धिदर सुस्त बन्दै जाँदा घरपरिवार आर्थिक दबाबमा परेको संकेत पनि देखिएको छ।

बीएलएसका अनुसार गत एक वर्षमा औसत प्रति घण्टा आम्दानी ३.४ प्रतिशतले बढेको छ भने अमेरिकामा मुद्रास्फीति दर ३.८ प्रतिशत पुगेको छ। इरान युद्धका कारण ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिलाई मुद्रास्फीतिको प्रमुख कारण मानिएको छ।

आईएनजीका प्रमुख अमेरिकी अर्थशास्त्री जेम्स नाइट्लीले उपभोक्ताको खर्च क्षमता लगातार कमजोर बन्दै गएको र उपभोक्ताको कन्फिडेन्स ऐतिहासिक न्यून स्तर नजिक पुगेको बताएका छन्। यद्यपि, हर्मुज जलमार्ग पुनः संचालन हुने सहमति भएमा आगामी दिनमा ब्याजदर कटौतीको सम्भावना अझै कायम रहेको उनको भनाइ छ।

मे महिनामा स्थानीय सरकार क्षेत्रमा ५५ हजार र स्वास्थ्य सेवा क्षेत्रमा ३५ हजार नयाँ रोजगारी थपिएको छ। सामाजिक सेवा, खानी, उत्खनन तथा तेल-ग्यास क्षेत्रमा समेत रोजगारी वृद्धि भएको बीएलएसले जनाएको छ।

यता वित्तीय सेवा क्षेत्रमा भने २२ हजार रोजगारी घटेको छ। गत वर्षको मे महिनाको उच्च बिन्दुबाट हालसम्म यस क्षेत्रमा कुल १ लाख ५ हजार जनाले रोजगारी गुमाएको तथ्यांक छ।