प्रहरीले ७७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लियो, बजेटबाट सूचना चुहिएको आशंका

बिजमाण्डू
२०८३ जेठ २१ गते ०९:२० | Jun 4, 2026
प्रहरीले ७७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लियो, बजेटबाट सूचना चुहिएको आशंका


काठमाडौं। सशस्त्र प्रहरी बलले उत्तरी नाकाबाट आएका ७७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। कर बढ्ने सूचना चुहिएपछि व्यवसायीले गाडी आयात ह्वात्तै बढाएको आशंकामा प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।

Vigo
GBIME
Tata

भन्सार जाँचपास भइसकेका गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको हो। सरकारले जेठ १५ को बजेट र आर्थिक विधेयकमार्फत विद्युतीय सवारीको करका दरहरू हेरफेर गरेको थियो।

‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरहरू हेरफेर गर्दैछन्’ भन्ने सूचना पहिले चुहिएकाले आयातकर्ताले गाडी पहिले छुटाएको अनुमान गृह मन्त्रालयको छ।

अर्थमन्त्रीले सबै खाले विद्युतीय गाडीलाई २० प्रतिशत समान भन्सारसहित २.५ प्रतिशतदेखि १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। यसका कारण २० लाख रुपैयाँभन्दा माथिका सबै गाडीको मूल्य वृद्धि हुनेछ।

गृहमन्त्रालयबाट सशस्त्र प्रहरीलाई पत्रचारपछि गाडीहरु नियत्रणमा लिइएको हो। बाटो-बाटोमै राखिएका गाडी भन्सारलाई बुझाइने र त्यसपछिका प्रक्रिया अगाडि बढ्ने सशास्त्र प्रहरी स्रोतले बताएको छ।

जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो। गाडी नियन्त्रणमा लिनको लागि सशस्त्रको नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुई वटा गाडी नियन्त्रणमा लिइएको छ।