ट्याक्सीको दर्ता खुलाउने सरकारको तयारी, जेनजी आन्दोलनका घाइते र सुकुम्बासी प्राथमिकतामा



बिजमाण्डू
२०८३ जेठ १३ गते १८:१३ | May 27, 2026
ट्याक्सीको दर्ता खुलाउने सरकारको तयारी, जेनजी आन्दोलनका घाइते र सुकुम्बासी प्राथमिकतामा


काठमाडौं। सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुका परिवार र सुकुम्बासीलाई लक्षित गरी ट्याक्सीको दर्ता खुलाउने तयारी गरेको छ।

Tata
GBIME

नयाँ ट्याक्सीको दर्ता लामो समयदेखि बन्द रहेकामा सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीलाई लक्षित गरी खुलाउने तयारी गरेको हो।

‘सुकुम्बासी वस्तीमा डोजर चलाइएपछि उनीहरुको पुनर्स्थापनाका लागि सरकार केही न केही कार्यक्रम ल्याउनुपर्ने पक्षमा छ। त्यही अनुसार उनीहरुलाई लक्षित गरी ट्याक्सीको दर्ता खुलाउने तयारी गरिएको हो,’ पूर्वाधार विकास मन्त्रालय स्रोतले भन्यो, ‘जेनजी आन्दोलनका घाइतेलाई पनि सरकारले समेट्न चाहेको छ। ट्याक्सी दर्तालाई त्यसको एउटा विकल्पका रुपमा लिइएको छ।’

स्वतन्त्र सांसद महाबीर पुनले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा नयाँ दर्ता रोकिँदा ट्याक्सीमा सिन्डिकेट मौलाएको भन्दै तत्काल खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

लगत्तै सरकारले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, ट्राफिक जाम र आवागमनमा समस्या बढेको भन्दै अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरी अध्ययन गरिरहेको छ।

‘कुन स्थानमा कति सवारीसाधनको आवश्यकता छ र कति ट्याक्सी दर्ता गर्न दिने भन्नेबारेमा अध्ययन भइरहेको छ,’ स्रोतले भन्यो।

२०५७ सालमा करिब ७ हजार ५०० ट्याक्सी दर्ता भएकामा २०७२ सालको भूकम्पपछि थप १ हजार ५०० दर्ता गरिएको थियो। सरकारले २०७६ मा पनि ट्याक्सीको दर्ता खुलाउने तयारी गरेकामा व्यवसायीको दबाबमा स्थगित भएको थियो।

ट्याक्सीको दर्ता खोलेर २० वर्ष पुरानो नम्बर खारेज गर्ने पनि सरकारको तयारी छ। यसले सीमित व्यवसायीको एकाधिकार तोडिने सरकारको बुझाइ छ।