काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डाटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर, साइबर सुरक्षा, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि क्षेत्रमा लगानी सरकारको प्राथमकितामा रहेको बताएका हुन्।
उनले विशेषगरी दुर्गम क्षेत्र तथा ग्रामिण भेगमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारलाई प्राथमकितामा राखेर आगामी आर्थिक वर्ष नेटवर्क विस्तार र पूर्वाधार सुदृढीकरण काम तीव्र रूपमा अघि बढाउने बताए।
उनले एक वर्षभित्र फोरजी थप विस्तार, नयाँ साइट स्थापना तथा आवश्यक पूर्वाधार निर्माण गर्ने गरी कार्ययोजना अघि बढाएको जानकारी दिए।

हालसम्म देशका ७५० स्थानीय तहमा फोरजी एलटीई सेवा पुगेको छ भने ७५३ वटै स्थानीय तहमा टुजी सेवा विस्तार भएको छ।
सञ्चारमन्त्री तिमिल्सिनाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उद्देश्य अनुसार खर्च गर्ने भन्दै इन्टरनेट सेवा नपुगेका बस्तीमा एक वर्षभित्र पहुँच विस्तार गर्ने बताए ।
उनले ओभर द टप (ओटिटी) सेवालाई कानुनी दायरामा ल्याउने तयारी गरिरहेको जानकारी दिए। यसका लागि ओटीटीसम्बन्धी नियमावली निर्माण गर्न लागिएको छ।








