काठमाडौं । इलन मस्कको कम्पनी ’स्पेसएक्स’ ले अमेरिकामा सेयर निष्कासनका लागि आवेदन दिएको छ।
बीबीसीका अनुसार यो कदमले कम्पनीका संस्थापक इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियनर बन्ने बाटो खोल्नेछ। स्पेसएक्सको यो आइपीओलाई वित्तीय बजारमा निकै उत्सुकताका साथ पर्खिएको थियो।
सार्वजनिक रुपमा कारोबार सुरु भएपछि यो कम्पनीको सेयर बजारमा ‘एसपीसीएक्स’ टिकर संकेत अन्तर्गत खरिद बिक्री हुने बताइएको छ। वाल स्ट्रीटको इतिहासमै यो सबैभन्दा ठूलो आइपीओ हुने र यसको कारोबार अर्को महिनादेखि हुन सक्ने अनुमान गरिएको छ।
लामो समयदेखि निजी कम्पनीकै रुपमा रहँदै आएको स्पेसएक्सले हालैका वर्षहरुमा अन्तरिक्ष प्रविधि र ‘स्टारलिंक’ इन्टरनेट सेवामार्फत आफ्नो बजार मूल्य उल्लेख्य रुपमा बढाइरहेको छ।
विश्लेषकहरुका अनुसार यो आईपीओले कम्पनीको मूल्यांकनलाई नयाँ उचाइमा पुर्याउनेछ। जसको प्रत्यक्ष फाइदा मुख्य सेयरधनी रहेका इलन मस्कलाई हुनेछ र उनी ट्रिलिनियर बन्ने अनुमान गरिएको छ।
हाल स्पेसएक्सको कूल सम्पत्ति १.२ ट्रिलियन अमेरिकी डलर रहेको छ। धेरै सेयर मस्क सँग रहँदा उनको सेयरको मूल्य ६०० बिलियन अमेरिकी डलरभन्दा माथि हुन सक्ने भनिएको छ।
टेस्लाको समेत स्वामित्व रहेको मस्क गत वर्ष ५०० बिलियन अमेरिकी डलर नेटवर्थ हुने पहिलो व्यक्ति बनेका थिए। जसकारण स्पेसएक्सको आइपीओ आएसँगै उनको नेटवर्थ १ ट्रिलियनभन्दा माथि पुग्नेछ।








