काठमाडौं। सरकारले मोबाइल फोन र इन्टरनेटको गुणस्तर सुधारका लागि फोरजीमात्र रहेका क्षेत्रमा टुजी र टुजी मात्र रहेका क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने योजना अगाडि बढाएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार प्रतिनिधि सभाको बैठकमा मोबाइल फोन र इन्टरनेटको गुणस्तर सुधारका लागि सरकारले आवश्यक काम अगाडि बढाएको बताए।
‘तीन देखि ६ महिनाभित्र आवश्यक पर्ने नयाँ टुजी र फोरजी साइट थप्ने, फोरजीमात्र रहेका क्षेत्रमा टुजी र टुजी मात्र रहेका क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने योजना छ,’ उनले भने, ‘पूर्वी तराईका १३ जिल्लामा एक वर्षभित्र नयाँ टुजी फोरजी परियोजना कार्यान्वयन गरिने छ।’
मन्त्री तिमिल्सिनाले यसअघि कहिल्यै अनुभूत नगरिएको गरी मोबाइल फोन र इन्टरनेटको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाए। ‘सेवाको गुणस्तर सुधारका लागि फोरजी सेवाको क्षमता विस्तार गरिएको छ। भिडभाड हुने क्षेत्रमा पनि क्षमता विस्तार गरिएको छ। यसले इन्टरनेटको गति वृद्धि भएको छ,’ उनले भने, ‘आगामी एक वर्षमा यसअघि कहिल्यै अनुभूत नगरिएको गरी गुणस्तर सुधारका लागि काम सुरु गरिसकेका छौं। हामी प्रश्न नआउने गरी काम गर्न प्रतिबद्ध छौं।’
सांसदहरुले विभिन्न समयमा सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल्सिनाले मोबाइल तथा इन्टरनेट सेवाको समस्या समाधान गर्न तत्कालका लागि नेपाल टेलिकमलाई ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको र अर्को ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए। ‘यसले नेटवर्क क्षमता र सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने विश्वास छ,’ उनले भने।
सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका लागि डिजिटल साइबर स्पेसको स्वायत्तता सम्बन्धमा कांग्रेस सांसद योगेश गौचन थकालीले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले ‘खुकुलो र पारदर्शी नियमन, नियामकको व्यवस्था, करको दर पुनरवलोकन र इन्ट्री ब्यारियरलाई हटाएर इन्टरनेट सेवा व्यापक विस्तार गर्ने सरकारको योजना छ। यस सन्दर्भमा सूचना प्रविधि, साइबर सुरक्षा र एआई विधेयक तर्जुमाको चरणमा छ’ भने।
उनले डिजिटल ट्रान्सफर्मेसनलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै यसका लागि हरेक दिन, हरेक हप्ता, हरेक महिना काम गर्ने बताए।








