काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सुरु भएको करिब सात वर्षपछि अर्को साता सरकारलाई हस्तान्तरण गरिने भएको छ।
निर्माण कार्य सकिएसँगै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरुङमार्ग अर्को साता सरकारलाई हस्तान्तरण गर्न लागेको हो।
सुरुङमार्ग ४२ महिनामा सम्पन्न गर्ने गरी २०१९ को अक्टोबरमा सुरु भएको थियो। तर कोभिड र स्थानीयको अवरोधका कारण निर्धारित समयभन्दा ढिला अर्थात करिब ७ वर्षमा निर्माण सम्पन्न भएको हो।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले जाइकाले ७ देखि १० दिनभित्र आयोजना सरकारलाई हस्तान्तरण गर्ने बताए।
‘हामीले त्यसका लागि अहिले पेपरवर्क र फिल्डमा निरीक्षणको काम गरिरहेका छौं। अबको हप्ता १० दिनमा सरकारलाई ह्यान्डओभर हुन्छ,’ नेपालले भने।
सुरुङमार्ग अहिले जापानी निर्माण कम्पनीको स्वामित्वमा छ। हस्तान्तरण नभएका कारण सुरुङमार्गमा सानातिना काम गर्न पनि जापानी कम्पनीको स्वीकृति लिनुपर्छ।
सरकारलाई हस्तान्तरणपछि सुरुङमार्ग सञ्चालनमा आउनेछ। सुरुङमार्ग सञ्चालनका लागि यसअघि नै सेवा प्रदायक कम्पनी छनोट गरिसकिएको छ।
ट्रायल असारमा
सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी छ। त्यसअघि सुरुङमार्गमा परीक्षण गर्नुपर्ने हुन्छ।
आयोजनाले वैशाख तेस्रो साताबाट नै परीक्षण गर्ने भनेकामा सेवा प्रदायकका रुपमा छनोट भएको एआरटी-युसिन जेभीले सम्झौताका लागि ढिलाइ गरेपछि पछाडि धकेलिएको हो। आयोजनाले एआरटी-युसिन जेभीसँग वैशाख १६ गते सम्झौता गरेको छ।
कम्पनीले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति ल्याउन बाँकी छ। विदेशी प्राविधिकले नेपाली कामदारलाई तालिम दिनेछन्।
आयोजना हस्तान्तरणपछि सेवा प्रदायक कम्पनीले १५ दिन जतिमा जनशक्ति व्यवस्थापन गर्ने नेपालले बताए। त्यसैले सुरुङमार्ग परीक्षणका रुपमा सञ्चालनका लागि असार कुर्नुपर्ने देखिएको छ।










