एनएसएल पहिलो पटक ‘होम एण्ड अवे’ मोडलमा, पुनः फेरियो टिम संख्या!



बिजमाण्डू
२०८३ जेठ ३ गते १४:५५ | May 17, 2026
एनएसएल पहिलो पटक ‘होम एण्ड अवे’ मोडलमा, पुनः फेरियो टिम संख्या!


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) होम एण्ड अवे मोडलमा हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले एनएसएलको चौथो संस्करण होम एण्ड अवे मोडलमा हुने जनाएको हो। चौथो संस्करणको एनएसएल आगामी भदौ २० गते सुरु हुनेछ।

Tata
GBIME

यसअघिका तीन वटै संस्करणमा सबै खेल दशरथ रंगशालामा भएका थिए। कोरोना महामारीका बीच पहिलो संस्करण बन्द रंगशालामा सम्पन्न भएको थियो।

उक्त संस्करणमा एनएसएलले धेरै राम्रो डिजिटल भ्युअरसिप पाएको थियो। यो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बन्दा दोस्रो र तेस्रो संस्करणमा ललितपुर सिटी च्याम्पियन बनेको थियो।

टिमको संख्या भने हरेक संस्करणमा फरक देखिएको छ। निक्कै तामझाम र कर्पोरेट घरानाको साथमा सुरु भएको एनएसएलमा क्लबको संख्या स्थिर छैन। पहिलो संस्करणमा आठ, दोस्रो संस्करणमा नौ र तेस्रो संस्करणमा सात टोलीले एनएसएल खेले।

चौथोमा अरु दुई टोली थप्ने योजना नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख श्रेयांश कार्कीले सुनाएका थिए। तर, आइतबार १० देखि १२ टोलीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए।

‘अहिले हामीसँग ७ वटा क्लबहरू छन्। अब १० देखि १२ वटा क्लब हुनेछन्। यो त मात्र सुरुवात हो। बाँकी कुराहरू पछि सार्वजनिक गर्दै जानेछौँ,’ उनले भने।

यो रणनीतिले एनएसएल अस्थिर पनि देखिएको छ। पहिलो संस्करणमा एक र दोस्रो संस्करणमा दुई टोलीले एनएसएल छाडे। त्यस्तै, निरन्तर रहेका केही क्लबको स्वामित्व पनि फेरिएको छ।

कोरोना महामारीमा लकडाउनबीच पहिलो संस्करण सम्पन्न गर्दा आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जति दर्शकलाई एनएसएलमा तान्न सकेको थियो, दोस्रो र तेस्रो संस्करणमा दर्शक त्यति देखिएनन्।

तर, यसपाला होम एण्ड अवे शैलीमा प्रतियोगिता गराएर समर्थक जुटाउने प्रयासमा एनएसएल देखिन्छ। प्रतियोगिता ४ महिनासम्म चल्नेछ।