राइड सेयरिङ कम्पनी उबरले भारतमा आफ्नो पहिलो डेटा सेन्टर स्थापना गर्न अडानी समूहसँग सम्झौता गरेको छ। यसका लागि उबरले अडानी इन्टरप्राइजेज र अमेरिकाको एज-कोडेक्सको अडानी कोन्नेक्स सँग साझेदारी भएको हो।
उबरले डेटा सेन्टरका लागि करिब ५ देखि ६ मेगावाट क्षमताको विद्युतीय पूर्वाधार प्रयोग गर्ने सम्झौता भएको छ। यो कदमले उबरलाई आफ्नो भारतीय प्रयोगकर्ताहरूको डेटा अझ छिटो र सुरक्षित रूपमा प्रोसेस गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ।
यो सम्झौता डेटा स्थानीयकरणको महत्वपूर्ण कदम भएको स्थनीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारत सरकारले नागरिकहरूको डेटा देश भित्रै राख्नुपर्ने नियमहरूमा कडाइ गरिरहेको छ। यो सम्झौताले उबरलाई ती कानुनी मापदण्डहरू पुरा गर्न सजिलो बनाउनेछ।
त्यस्तै, भारत उबरको लागि अमेरिका पछिको दोस्रो ठूलो बजार हो। स्थानीय स्तरमा डेटा सेन्टर हुँदा एप चलाउँदा हुने ‘ल्याग’ कम हुने र म्यापिङ तथा भुक्तानी सेवा अझै भरपर्दो हुने विश्वास कम्पनीको छ।
उबरका प्रमुख कार्यकारी अधिकृत डारा खोसरोशाहीले अडानीसँग भएको सम्झौताबारे जानकारी दिएका हुन्। उनी ५ दिने भारत भ्रमणमा छन्। भारत बसाईका क्रममा उनले भारतीय वित्त मन्त्री निर्मला सीतारमण लगाउत अन्य मन्त्रीहरुसँग भेट गरेका छन्।
यसले क्लाउड सेवामा निर्भरता कम हुने अपेक्षा पनि गरिएको छ। यसअघि उबरले मुख्यतया गुगल र ओरकल जस्ता विदेशी क्लाउड सेवाहरू प्रयोग गर्थ्यो। अब भने उसले भारतमै आफ्नै पूर्वाधार प्रयोग गर्न पाउनेछ।
अडानी कोन्नेक्सले सन् २०३० सम्ममा भारतमा १ गिगावाट क्षमताको डेटा सेन्टर संजाल बनाउने लक्ष्य राखेको छ। उबर जस्तो ठूलो अन्तर्राष्ट्रिय टेक कम्पनीसँगको यो सहकार्यले अडानी समूहलाई यस क्षेत्रको प्रमुख खेलाडीको रूपमा स्थापित गर्ने विश्लेषण गरिउको छ।
सन् २०२५ मा अडानी इन्टरप्राइजले गुगलसँग मिलेर भारतकै ठूलो डेटा सेन्टर बनाउने सहमति गरेको थियो। सो सेन्टर भने अडानी कोन्नेक्सले आन्ध्रप्रदेशको विशाखापतनममा बनाउँदैछ।
यस सहकार्यले भारतको बढ्दो डिजिटल अर्थव्यवस्था र पूर्वाधार विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।








