काठमाडौं । आईसीसी टी-२० विश्वकपका क्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले भनेका थिए : अस्ट्रेलिया, इङ्ग्ल्याण्डजस्ता टोलीसँग घरेलु मैदानमा खेल्न इच्छुक छौं। उनको यो भनाइले अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा पनि राम्रै चर्चा पायो।
सोहि विश्वकपमा वेस्ट इण्डिज प्रशिक्षक डरेम समीले नेपाल जस्तो क्रिकेटिङ राष्ट्रलाई अघि बढ्न सहयोग गर्नु टेस्ट राष्ट्रको दायित्व भएको बताएका थिए। त्यही विश्वकपपछि भने इङ्ग्ल्याण्डले नेपालमा सिरिज खेल्ने विषयमा गम्भीरता देखाएको जनाइएको छ।
‘वेस्ट इण्डिज र नेपाल मात्र होइन। इङ्ग्ल्यान्ड र नेपाल, अस्ट्रेलिया र नेपालबीचको सिरिज पनि उत्तिकै आवश्यक छ,’ उनले भनेका थिए, ‘टेस्ट मान्यता प्राप्त राष्ट्रहरूको दायित्व यही हो कि उनीहरूले एसोसिएट राष्ट्रहरूको क्रिकेट विकासमा सक्रिय योगदान दिनुपर्छ। हामीले आफूले सक्ने भूमिकामा साथ दिनैपर्छ। विश्व क्रिकेटको विकास नेपालजस्ता उदाउँदै गरेका राष्ट्रलाई सहयोग नगरी सम्भव हुँदैन।’
वेस्ट इण्डिजमात्र यस्तो टेस्ट राष्ट्र हो जसले नेपालसँग द्विपक्षिय सिरिज खेलिसकेको छ। तर, अब भने इङ्ग्ल्याण्डको नेपाल टूरको पनि चर्चा सुरु भएको छ।
इएसपीएन को रिपोर्ट अनुसार इङ्ग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले नेपालसँगको टी-२० सिरिजका लागि विचार गरिरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले इएसपीएनको रिपोर्ट सेयर गर्दै लेखेका छन् ‘कान्ट वेट’। खड्काले टीयू क्रिकेट मैदानमा नेपाल र इङ्ग्ल्याण्डबीचको खेल भन्दै ‘हामी तयार छौं’ भनेका छन्।
यसो भएको खण्डमा इंग्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्छ। इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले २०२७–३१ को अन्तर्राष्ट्रिय साइकलमा नेपालमा एक टी-२० सिरिजको सम्भावना खोजिरहेको छ।
गत वर्षमात्र नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्ध सिरिज जितेर पहिलो पटक कुनै पूर्ण आईसीसी सदस्य राष्ट्रविरुद्ध सिरिज जित दर्ता गरेको थियो। तर, अहिलेसम्म नेपालले कुनै टेस्ट खेल्ने राष्ट्रको पूर्ण अन्तर्राष्ट्रिय भ्रमण आयोजना गर्न पाएको छैन।
इङ्ग्ल्याण्ड र नेपाल पहिलो पटक फेब्रुअरीमा भएको टी-२० विश्वकप क्रममा आमने-सामने भएका थिए। अन्तिमसम्म चुनौती दिएको नेपालले खेल त हार्यो। तर फाइनलको दिन पनि कमेन्टेटरहरुले नेपाल र इङ्ग्ल्याण्डबीचको खेल प्रतियोगिताकै हेर्नलायक मध्येको भन्दै तारिफ गरिरहेका थिए।
वानखेडे स्टेडियममा नेपाली दर्शकहरूको भीडका बीच भएको त्यो रोमाञ्चक खेलमा इंग्ल्यान्डले अन्तिम बलमा मुस्किलले जित हासिल गरेको थियो।
इङ्ग्ल्याण्ड र नेपालबीचको खेलका लागि खड्काले सो खेलपछिका दिनहरूमा भारतमा इसीबीका अधिकारीहरूसँग भेटघाट गरेको रिपोर्टमा जनाइएको छ।
इसीबीले पछिल्ला महिनाहरूमा अन्य अन्तर्राष्ट्रिय बोर्डहरूसँग मिलेर २०२७–३१ को भावी भ्रमण कार्यक्रममामा काम गरिरहेको छ। यद्यपि नयाँ विश्व टेस्ट च्याम्पियनसिपको ढाँचाबारे आईसीसीको अन्तिम निर्णय पर्खिरहेका कारण अझै केही कुराहरू अनिश्चित छन्।
तथापि, इसीबीले नेपालमा छोटो पुरुष भ्रमण गर्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेको जनाइएको छ। यो भ्रमण सम्भवतः भारतजस्तो कुनै देशको भ्रमणअघि तालिकामा मिलाउन सकिने देखिन्छ। दुई वा तीन खेलको टी२० सिरिजले अर्को सिरिजको तयारीका रूपमा पनि काम गर्न सक्छ र इंग्ल्यान्डको कार्यतालिकामा केही दिन मात्र थपिने हुन्छ।










