काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले एनपीएलको पहिलो र दोस्रो संस्करणको हिसाबकिताब पारित गरेको छ। विराटनगरमा सम्पन्न साधारण सभाले एनपीएलको आयव्यय पारित गरेको हो।
पहिलो संस्करणको हिसाबकिताबमा ढिलाइ गरेको क्यानले बोर्ड बैठकबाट सुरुमा एनपीएलको हिसाब कार्यसमितिबाटै पारित गर्न सकेको थिएन। गत चैत महिनामा मुस्किलले बहुमत जुटाएर क्यानले दुवै संस्करणको हिसाब कार्यसमितिबाट पारित गरेको थियो। यसमा उपाध्यक्ष लगायतका आधा दर्जन बढी केन्द्रीय सदस्यले अडिट स्पष्ट नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्समेत गुहार्न पुगेका थिए।
एनपीएलको पहिलो संस्करणमा खरिद नियमावली मिचेको, बेटिङ प्रवर्धन गरेको जस्ता आरोप क्यानमाथि लागेपछि युवा तथा खेलकुद मन्त्रीले कार्यदल बनाएर छानबिनसमेत अघि बढाएको थियो। कार्यदलले तीन पटक पत्राचार गर्दा दुई पटक मात्रै जवाफ दिएको र त्यो पनि सतही जवाफ दिएको प्रतिवेदनमा उल्लेख गरेको थियो। मन्त्रालयले त्यही प्रतिवेदनलाई ब्युँताउँदै क्यानसँग फेरि जवाफ माग्न राखेपलाई ताकेता गरिरहँदा बजेट पारित गरिएको हो।
२०८२ को साउनमा क्यानले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक गरेको थियो। क्यानका अनुसार एनपीएलबाट कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार रुपैयाँ छ। यसमा प्रतियोगिता खर्च २० करोड १७ लाख ७३ हजार रुपैयाँ छ। बाँकी रहेको ७ करोड ५३ लाख ९१ हजार रुपैयाँबाट आधा रकम ८ वटा फ्रेन्चाइज टिमले पाएका छन्। यसमा उनीहरूले ४ करोड ३७ लाख ४० हजार रुपैयाँ हात पारेका थिए।
फ्रेन्चाइजलाई बाँडेपछि क्यानसँग बाँकी ३ करोड १६ लाख ५० हजार रुपैयाँमा प्रदेश क्रिकेटमा ७० लाख रुपैयाँ छुट्टाइएको छ। यसपछि बाँकी रहेको २ करोड ४६ हजार रुपैयाँ क्यानको कूल आम्दानी रहेको छ।
त्यस्तै, दोस्रो संस्करणको हिसाब क्यानले गएको चैतमा सार्वजनिक गरेको थियो। यसअनुसार दोस्रो संस्करण आयोजनाको कूल लागत २१ करोड ९६ लाख ५ हजार १२३ छ। यसबाट कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँ भएको छ।
यसमा आयोजनाको लागत कटाएर क्यानले कूल २५ करोड ४० लाख रुपैयाँ हात पारेको छ। यो राजस्व बाँडफाँड अघिको कुल आम्दानी हो।
यसमध्ये १६ करोड १८ लाख रुपैयाँ ८ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको क्यानले जनाएको छ। यसमा बाँकी रहेको ९ करोड २१ लाख रुपैयाँ क्यानको आम्दानी रहेको जनाएको छ।
यसबाहेक साधारण सभाले वार्षिक कार्यक्रम र बजेट अनुमोदन केन्द्रीय कार्यसमितिद्वारा पेस गरिएको सन् २०२६ को वार्षिक कार्ययोजना र बजेट सभाले अनुमोदन गरेको जनाएको छ। त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ ।
क्यानले नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट रकम ४५ जिल्ला क्रिकेट सङ्घहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै, जिल्ला सङ्घहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको आधारमा जिल्लाहरूलाई स्कोर कार्ड ग्रान्ट उपलब्ध गराउने निर्णय गरिएको छ।
यसबाहेक हरेक डिसेम्बरमा क्यानको वार्षिक अवार्ड गर्ने पनि निर्णय गरेको छ। क्यानले उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी तथा लाइफ टाइम अचिभमेन्ट अवार्ड वितरण गर्ने जनाएको छ।










