इन्धन संकटले अफ्रिकी मुलुकमा इभी क्रान्ति, चीनबाट आयात दोब्बरभन्दा बढी

बिजमाण्डू
२०८३ बैशाख २६ गते १२:३९ | May 9, 2026
इन्धन संकटले अफ्रिकी मुलुकमा इभी क्रान्ति, चीनबाट आयात दोब्बरभन्दा बढी


नैरोबी (केन्या)। इथोयोपियासहित अफ्रिकी देशहरूमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा बढिरहेको छ। महँगो इन्धन र आपूर्तिको संकटका कारण धेरै अफ्रिकी देशहरू सस्तो र सफा यातायाततर्फ आकर्षित भइरहेका छन्। विशेषगरी इथियोपिया यस परिवर्तनको अगुवामा देखिएको छ।

Vigo
GBIME
Tata

चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार अफ्रिकाले २०२५ मा चीनबाट ४४ हजार ३५८ वटा विद्युतीय सवारी आयात गरेको छ। २०२४ मा यो संख्या १९ हजार ३८६ थियो। दुई सय मिलियन डलरभन्दा बढी मूल्यका यी सवारीहरूले अफ्रिकामा इभीको माग तीव्र रूपमा बढिरहेको संकेत गरेका छन्।

यसमा इथियोपियाको भूमिका प्रमुख छ। उसले २०२४ मा पेट्रोल र डिजेलबाट चल्ने नयाँ गाडी आयातमा प्रतिबन्ध लगाएपछि इभी प्रयोग झन् बढेको हो। अहिले इथियोपियाका सडकमा एक लाख १५ हजारभन्दा बढी विद्युतीय सवारी गुडिरहेका छन्, जुन देशको कुल सवारी संख्याको करिब ८ प्रतिशत हो। २०२५ मा इथियोपियाले अफ्रिकाले चीनबाट आयात गरेका इभीमध्ये एकतिहाइ हिस्सा आयात गरेको थियो। त्यसपछि दक्षिण अफ्रिका, इजिप्ट, मोरोक्को र नाइजेरिया प्रमुख बजारका रूपमा छन्।

इरान-इजरायल, अमेरिका द्वन्द्व लामो बन्दै जाँदा इथियोपियामा इन्धन अभाव बढेको छ। यसले यातायात र दैनिक जीवनमा असर पारेको छ। त्यसैले सरकारले महँगो तेल आयात घटाएर ऊर्जा सुरक्षालाई बलियो बनाउने उद्देश्यसहित इभी प्रयोगलाई प्राथमिकता दिएको छ।

इथियोपियाले वार्षिक करिब ४.२ अर्ब डलर बराबरको इन्धन आयात गर्छ, जसले विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब पारिरहेको छ। व्यापार तथा क्षेत्रीय एकीकरण मन्त्री कसाहुन गोफेले देशले हरेक महिना करिब १२८ मिलियन डलर इन्धन अनुदानमा खर्च गरिरहेको बताएका छन्। उता, स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण इन्धन आपूर्ति प्रभावित हुँदा १ लाख ८० हजार मेट्रिक टनभन्दा बढी इन्धन अपुग भएको पनि उनले उल्लेख गरेका छन्।

दक्षिण अफ्रिकास्थित संस्था ‘द इलेक्ट्रिक मिसन’ का कार्यकारी निर्देशक हितेन परमारका अनुसार इथियोपियाको इभी रणनीति दीर्घकालीन रूपमा दिगो देखिन्छ। उनका अनुसार आयातित इन्धनको सट्टा स्वदेशमै उत्पादित बिजुली प्रयोग गर्दा ऊर्जा सुरक्षा मजबुत हुन्छ।

इथियोपियाको अर्को विशेषता भनेको त्यहाँको ९० प्रतिशतभन्दा बढी विद्युत् नवीकरणीय स्रोतबाट उत्पादन हुनु हो। मुख्य रूपमा जलविद्युत् र सौर्य ऊर्जामा आधारित यो प्रणालीलाई इथियोपियाली ठूलो जलविद्युत परियोजना ग्रान्ड इथियोपियन रेनैसेन्स ड्यामले अझ बलियो बनाउने अपेक्षा गरिएको छ। यो अफ्रिकाकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। यद्यपि यस परियोजनालाई लिएर इजिप्ट र सुडानसँग पानीको विषयमा लामो विवाद पनि चलिरहेको छ।

विशेषज्ञहरूका अनुसार इभी प्रयोग बढ्दै जाँदा इन्धन आयातमा हुने ठूलो खर्च अन्य विकासका क्षेत्रमा प्रयोग गर्न सकिन्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वभर इभी प्रयोगका कारण २०२४ मा दैनिक १० लाख ब्यारेलभन्दा बढी तेलको खपत घटेको थियो।

अफ्रिकाका अन्य देशहरूले पनि इभी तर्फको यात्रा सुरु गरिसकेका छन्। इजिप्ट, दक्षिण अफ्रिका र मोरक्कोले सरकारी प्रोत्साहन, उत्पादन क्षमता विस्तार र स्वच्छ ऊर्जा लगानीमार्फत इभी प्रयोग बढाइरहेका छन्।

अफ्रिका इ-मोबिलिटी एलायन्सका नीति तथा लगानी प्रमुख बब वेसोंगाका अनुसार अहिले इथियोपियामा एक लाखभन्दा बढी सवारीधनी इन्धन मूल्य वृद्धिको प्रत्यक्ष असरबाट जोगिएका छन्। उनका अनुसार निजी इभी प्रयोगकर्ताले महिनामा करिब ४ डलर मात्र चार्जिङमा खर्च गर्छन्, जबकि पहिले इन्धनमा करिब २७ डलर खर्च हुन्थ्यो। सार्वजनिक यातायातमा त यो बचत अझ धेरै देखिएको छ।

तर इभी विस्तारसँगै चुनौती पनि छन्। चार्जिङ स्टेशन र विद्युत् वितरण पूर्वाधार अझै पर्याप्त छैन। राजधानी अदीस अबाबामा तीव्र चार्जिङ स्टेशन निर्माण भइरहेका भए पनि देशभर विस्तार गर्न समय र ठूलो लगानी आवश्यक पर्ने बताइएको छ।

विशेषज्ञहरूका अनुसार विद्युत् उत्पादन पर्याप्त भए पनि दुर्गम क्षेत्रमा भरपर्दो रूपमा बिजुली पुर्‍याउनु सबैभन्दा ठूलो चुनौती हो। बारम्बार हुने विद्युत् कटौती र उच्च क्षमताका चार्जिङ स्टेशन जडानमा ढिलाइका कारण आवश्यक पूर्वाधार विस्तार सुस्त बनेको छ।

इथियोपिया आफ्नै इभी उद्योग निर्माण गर्ने योजनामा पनि छ। सरकारी तथ्यांकअनुसार अहिले १७ वटा इभी एसेम्बली प्लान्ट निर्माणको प्रक्रियामा छन् र २०३० सम्म यो संख्या ६० पुर्‍याउने लक्ष्य राखिएको छ। यसले उत्पादन स्थानीयकरण गरी लागत घटाउने अपेक्षा गरिएको छ।

तर मूल्य अझै ठूलो चुनौती बनेको छ। सञ्चालन खर्च कम भए पनि अधिकांश नागरिकका लागि इभी खरिद मूल्य अझै महँगो छ। साथै पेट्रोल–डिजेल गाडीमा प्रतिबन्ध लागेपछि पुराना गाडीको मूल्य समेत बढेको छ, जसले निम्न तथा मध्यम वर्गलाई थप दबाब पारेको बताइन्छ।

विशेषज्ञहरूका अनुसार राष्ट्रिय स्तरमा सवारी प्रणाली परिवर्तन क्रमिक रूपमा हुन्छ। पेट्रोलियमबाट चल्ने सवारी अझै केही समय प्रयोगमा रहनेछन्, त्यससँग जोडिएका रोजगारी र आर्थिक गतिविधिलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

तथापि दीर्घकालीन रूपमा इभीतर्फको यात्रा स्पष्ट देखिएको उनीहरू बताउँछन्। सञ्चालन र मर्मत खर्च कम हुँदा यातायात खर्च घट्ने, वस्तुको मूल्य कम हुने र आर्थिक अवसरहरूमा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

इथियोपियाले नर्वे र चीनजस्ता देशबाट पनि सिक्न खोजिरहेको छ, जहाँ सरकारी नीति, पूर्वाधार लगानी र उपभोक्ता प्रोत्साहनका कारण इभी प्रयोग तीव्र रूपमा बढेको छ। विशेषज्ञहरूका अनुसार यो केवल यातायातको परिवर्तन मात्र होइन, ऊर्जा प्रयोग गर्ने तरिका र त्यसबाट लाभ लिने समूहहरूको संरचना परिवर्तन गर्ने प्रक्रिया पनि हो। (एपी)