काठमाडौं। बेइजिङ अटो शो २०२६ मा देखिएको दृश्य निकै फरक र आकर्षक थियो- त्यहाँ एउटा एसयूभी थियो जसले खुट्टाको मसाज गर्न सक्थ्यो। एउटा लक्जरी मिनीभ्यानमा तेस्रो पंक्तिको सिटसम्म पुग्न घुम्ने सिट राखिएको थियो। केही गाडीभित्र व्यावसायिक स्तरका स्पिकर थिए र क्याराओके गाउने सुविधा पनि थियो। कतिपय गाडीका हेडलाइटबाट भित्तामा सिनेमा प्रोजेक्ट गर्न सकिने।
बेइजिङमा आयोजित विश्वकै ठूलो अटो शोले स्पष्ट सन्देश दिएको छ : चिनियाँ विद्युतीय सवारी (इभी) अब केवल इन्धन बचतमा सीमित छैनन्, प्रविधिको नयाँ युग सुरु भएको संकेत गरेको छ।
यी दृश्यले विश्वव्यापी तेल संकट र बढ्दो इन्धन मूल्यको पृष्ठभूमिमा अटोमोबाइल क्षेत्रको भविष्य ‘इलेक्ट्रिक’ र ‘इन्टेलिजेन्ट’ हुने देखाउँछ। विशेषगरी पश्चिम एसियामा जारी तनाव र तेलको अभावका कारण मानिसहरूको ध्यान परम्परागत गाडीबाट हटेर न्यू इनर्जी भेइकल (एनइभी)तर्फ मोडिएको देखिन्छ।
यी सुविधा विश्वका धेरै उपभोक्ताका लागि सपनाजस्तै लाग्न सक्छन्। तर, पश्चिमी अटो निर्माता र राजनीतिज्ञका लागि यो अवस्था अस्तित्वगत खतरा जस्तो देखिएको छ।
यस पटकको शोमा १,४५१ वटा गाडी प्रदर्शनमा राखिएका थिए। तीमध्ये अधिकांश विद्युतीय वा हाइब्रिड मोडल थिए। बीवाइडी, नियो र एलआई अटो जस्ता चिनियाँ कम्पनीहरूले पेट्रोलको विकल्पका रूपमा उच्च माइलेज र छिटो चार्ज हुने नयाँ मोडल सार्वजनिक गरे।
चीनको इभी उद्योगले दैनिक १० लाख ब्यारेल तेलको माग घटाएको तथ्यांकले देखाउँछ। तेल संकटको समयमा यो ठूलो राहत मानिएको छ।
साओमी र हुवावे जस्ता प्रविधि कम्पनी अटो क्षेत्रमा प्रवेश गरेपछि गाडीहरू ‘स्मार्ट ग्याजेट’ जस्ता बनेका छन्। आर्टिफिसियल इन्टेलिजेन्स, उच्च सेन्सर र अटोनोमस ड्राइभिङ प्रविधि अब महँगा गाडीमा मात्र सीमित छैनन्। यी सुविधा साधारण इभीहरूमा पनि अनिवार्य जस्तै बनेका छन्।
प्रदर्शनीमा केही इभीले १२ मिनेटमै पूर्ण चार्ज हुन सक्ने क्षमता देखाए। यसले प्रयोगकर्तामा हुने ‘रेन्ज एन्जाइटी’ घटाउने संकेत दिएको छ। भविष्यमा इन्धन भर्न लाइन बस्नुपर्ने अवस्था हट्न सक्छ।
बेइजिङ अटो शोले भविष्यको यातायात खनिज तेलमा निर्भर नहुने देखाएको छ। तेल संकटले यो परिवर्तनलाई अझ तीव्र बनाएको छ। चीन यस ‘इलेक्ट्रिक युग’ को नेतृत्व गर्ने दिशामा अघि बढेको देखिन्छ।

मूल्य र प्रविधिको फ्युजन
इरान युद्धका कारण विश्वभर तेल र ग्यासको मूल्य बढेको छ। यस्तो अवस्थामा चीनले ठूलो मात्रामा र तुलनात्मक रूपमा सस्तो विद्युतीय र हाइब्रिड गाडी उत्पादन गरिरहेको छ।
चिनियाँ कम्पनीहरूले कम लागतमा गुणस्तरीय इभी उत्पादन गरिरहेका छन्। तेल संकटका कारण महँगो पेट्रोल गाडी किन्न नसक्ने विकासोन्मुख देशका लागि यी गाडीहरू महत्त्वपूर्ण विकल्प बन्न सक्छन्।
अमेरिकाले इन्धनबाट चल्ने गाडीलाई प्राथमिकता दिँदै इभीमा दिइने सहुलियत घटाएको छ। तर, चीनले भने आफ्नो अर्थतन्त्रलाई नै विद्युतीकरण गर्ने लक्ष्य लिएको छ।
बीवाइडी, जीली र एक्सपेङ जस्ता ब्रान्डले केवल गाडी मात्र बनाइरहेका छैनन्। उनीहरूले बैदु, हुवावे र पोनी डट एआई जस्ता कम्पनीसँग मिलेर आफ्नै टेक इकोसिस्टम बनाइरहेका छन्।
चिनियाँ इभी निर्यातमा पहिलो त्रैमासिकमा ७८ प्रतिशत वृद्धि भएको छ। तर, यो विस्तार सहज छैन।
राष्ट्रिय सुरक्षा र स्थानीय उद्योग जोगाउने नाममा विभिन्न देशले चीनबाट आयात हुने गाडीमा भारी महसुल लगाएका छन्। ७० भन्दा बढी अमेरिकी सांसदले राष्ट्रपति ट्रम्पलाई चिनियाँ गाडीमाथि पूर्ण प्रतिबन्ध नलगाउन चेतावनी दिएका छन्।
युरोपले पनि महसुल लगाएको छ। तर, चिनियाँ गाडीले त्यहाँको बजार छिटो ओगटिरहेका छन्। उदाहरणका लागि युरोपेली संघमा बीवाइडीको दर्ता १७० प्रतिशतले बढेको छ।

साफ्ट पावर र इन्धन आत्मनिर्भरता
चिनियाँ सरकारको दीर्घकालीन रणनीतिका कारण त्यहाँ तेलको माग प्रति दिन १० लाख ब्यारेलले घटेको छ। रोडियम ग्रुपको २०२५ अध्ययनले यो तथ्य देखाएको छ। यस रणनीतिले अहिलेको तेल संकटमा चीनलाई सुरक्षित राखेको छ र इभी बजार विस्तारको सम्भावना बढाएको छ।
बीवाइडीकी कार्यकारी स्टेला लीले बेइजिङ अटो शोमा आफ्नो कम्पनीले अमेरिकी बजार बाहिर पनि प्रभुत्व बढाउन सक्ने बताइन्। उनले अमेरिकी बजार अनिवार्य नभएको धारणा राखिन्।
यसले चिनियाँ उत्पादनले विश्व बजारमा ठूलो हिस्सा लिन सक्ने संकेत दिएको छ। खाडी क्षेत्रमा भइरहेको तनावले तेलको मूल्य अझ बढाएको छ। यसले चीनले अघि बढाएको ब्याट्रीबाट चल्ने गाडीको बजार विस्तारलाई थप बल दिएको छ। यसले विश्व बजारमा ठूलो परिवर्तन ल्याएको छ।
२० औं शताब्दीमा फोर्ड र एसेम्बली लाइन अमेरिकी औद्योगिक शक्तिको प्रतीक थियो। २१ औं शताब्दीमा चीनको इभी क्षेत्र र स्वचालित उत्पादन नयाँ चिनियाँ पहिचान बनेको छ। अमेरिकामा टेस्ला र वेमोले जे गरिरहेका छन्, चीनमा त्यस्तै स्तरको प्रतिस्पर्धा देखिएको छ। चिनियाँ कम्पनीहरू विश्व बजार जित्नेमा विश्वस्त देखिन्छन्।










