काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएका बताए। सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न प्रेसले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने उनले बताए।
सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर बहन गर्नुपर्ने उनले औंल्याएका छन्।
नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
साथै, उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा तथा सार्वजनिक हितप्रतिको उत्तरदायित्व उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।
‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ उनले उल्लेख गरे।
डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए।
समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैं महत्त्वपूर्ण रहने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मानसमेत व्यक्त गरेका छन्।








