स्क्रिनबाट किताबमा फर्किँदै स्वीडेनको शिक्षा प्रणाली, डिजिटल उपकरणको प्रयोग घटाउँदै सरकार



बिजमाण्डू
२०८३ बैशाख ४ गते १०:५८ | Apr 17, 2026
स्क्रिनबाट किताबमा फर्किँदै स्वीडेनको शिक्षा प्रणाली, डिजिटल उपकरणको प्रयोग घटाउँदै सरकार
Photo Credit : Ann-Sofi Rosenkvist/imagebank.sweden.se


स्वीडेन सरकारले विद्यालयहरूमा डिजिटल उपकरणको प्रयोग घटाउँदै कागज, किताब र कलममा आधारित शिक्षालाई प्राथमिकता दिने नीति अघि बढाएको छ।

Tata
GBIME

यो कदम विद्यार्थीहरूको घट्दो साक्षरता स्तर सुधार गर्ने उद्देश्यले चालिएको हो।

सरकारका अनुसार स्क्रिनको अत्यधिक प्रयोगले विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमता र पढाइ बुझ्ने क्षमतामा नकारात्मक असर परेको छ। त्यसैले साना कक्षाका बालबालिकालाई सकेसम्म डिजिटल उपकरणबाट टाढा राख्ने योजना बनाइएको हो। यसअन्तर्गत प्रि-स्कूलमा ट्याब्लेटको अनिवार्यता हटाइएको छ र विद्यालयमा मोबाइल फोन प्रयोगमा समेत प्रतिबन्ध लगाइने भएको छ।

यस नीतिअनुसार विद्यालयहरूलाई पाठ्यपुस्तक र शिक्षक सामग्री किन्नका लागि ठूलो रकम उपलब्ध गराइएको छ। आगामी वर्षहरूमा अझै कागज र किताबमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको छ।

तर यो निर्णयको आलोचना पनि भइरहेको छ। प्रविधि कम्पनीहरू, शिक्षाविद् र विशेषज्ञहरूले डिजिटल सीप बिना विद्यार्थीहरू भविष्यको रोजगारीका लागि तयार नहुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार विश्वका धेरैजसो काममा डिजिटल ज्ञान आवश्यक पर्ने भएकाले यस्तो नीति दीर्घकालीन रूपमा अर्थतन्त्रमा असर पार्न सक्छ।

केही विज्ञहरूले भने सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताएका छन्। विद्यार्थीले आधारभूत पढाइ लेखाइको सीपसँगै डिजिटल दक्षता पनि हासिल गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनीहरुको जोड छ।

विद्यार्थीहरूबीच पनि यस विषयमा एकमत छैन। केहीले डिजिटल उपकरणले ध्यान भंग गराउने भन्दै कागजी शिक्षालाई समर्थन गरेका छन् भने अन्यले आधुनिक संसारसँग प्रतिस्पर्धा गर्न डिजिटल शिक्षा आवश्यक रहेको बताएका छन्।