नेपाल टेलिकमको एसईई अफर : २० रुपैयाँमा सिम, यस्ता छन् अन्य आकर्षण सुविधा



बिजमाण्डू
२०८२ चैत्र २६ गते ११:२६ | Apr 9, 2026
नेपाल टेलिकमको एसईई अफर : २० रुपैयाँमा सिम, यस्ता छन् अन्य आकर्षण सुविधा


काठमाडौं। नेपाल टेलिकमले एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि अफर सार्वजनिक गरेको छ।

Tata
GBIME

एसईई अफरमा असार २६ गतेसम्म २० रुपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले बताए। पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने उनले जानकारी दिए।

उनका अनुसार सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्। नयाँ सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन मिल्नेछ।

३० दिन सम्मका लागि प्रति दिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ। प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहने उनले बताए।

उनले भने, ‘अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको ३ दिनभित्र प्रयोग गरिसक्नु पर्छ।’

नयाँ सिम लिन परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने उनले जानकारी दिए।

साथै, सिमकार्ड सक्रिय गर्नका लागि सिम राखेको मोबाइलबाट *१४१४# डायल गर्नुपर्नेछ। सो पश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ।

‘पहिले नै प्रयोग भइरहेको सिममा समेत *१६००# डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्नुपर्नेछ,’ उनले भने, ‘विक्रम संवतमा जन्म मिति अंग्रेजी अक्षरमा टाइप गरी सेन्ट गर्नुपर्छ। सबै तथ्यांक प्रमाणीकरण पश्चात अफर उपलब्ध हुन्छ।’