आयात गर्ने व्यापारीलाई राष्ट्र बैंकले दियो राहत, धरौटीको नगद मार्जिनमा भारी कटौती



बिजमाण्डू
२०८२ चैत्र २४ गते १८:३७ | Apr 7, 2026
आयात गर्ने व्यापारीलाई राष्ट्र बैंकले दियो राहत, धरौटीको नगद मार्जिनमा भारी कटौती

काठमाडौं। नेपाल राष्ट्र बैंकले वस्तु आयातको हकमा राख्नुपर्ने धरौटीको सीमा घटाएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्रमा संशोधन गर्दै विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयबाट हुने आयातमा राखिने नगद मार्जिनको सीमा घटाएको हो।

संशोधित व्यवस्थाअनुसार विद्युतीय प्रणालीमार्फत भुक्तानी हुने भन्सार विन्दुबाट सामान आयात गर्दा उद्योगले १ प्रतिशत र व्यापारिक फर्मले ३ प्रतिशत नगद मार्जिन राख्दा हुने व्यवस्था गरिएको छ। आफ्नै प्रयोजनका लागि कच्चा पदार्थ आयात गर्ने उद्योगले यसअघि २ प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था थियो।

यस्तै सामान आयात गरी बिक्री गर्ने व्यापारिक फर्मका लागि यसअघि १० प्रतिशत नगद मार्जिन अनिवार्य रहेकोमा अब त्यसलाई ३ प्रतिशतमा झारिएको हो। यो सुविधा विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयमार्फत हुने आयातमा मात्र उपलब्ध हुनेछ।

सटही सुविधा प्रदान भएको १२० दिनभित्र सामान आयात गरिसक्नु पर्नेछ। तर, पटकपटक सटही सुविधा प्रदान भई एकै पटक सामान हुने अवस्थामा पहिलो पटक सटही लिएको १२० दिनभित्र आयात गरिसक्नु पर्ने राष्ट्र बैंकको सर्कुलरमा उल्लेख छ।

बीमा कम्पनीहरुले विशेषज्ञ सेवा (एक्चुअरी, सर्भे र भ्यालुएटर आदि)का लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधा नेपाल बीमा प्राधिकरणको सिफारिस समेतका आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।