काठमाडौं । नेपाल टेलिकममा प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य गर्दै ग्राहकलाई सेवा छनोटको सुविधा दिइने भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नयाँ व्यवस्था गरिएको हो।
यसअघि डेटा सकिएपछि स्वत: ब्यालेन्स काटिन्थ्यो। त्यसअघि डेटा प्याक सकिन लागेको मेसेज पठाइएपनि सेवा छनोटको अपसन भने देखाउँदैन थियो।
यो नयाँ व्यवस्था हाल परीक्षणको चरणमा रहेको छ र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले बताए। उनका अनुसार अब डेटा सकिएपछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने जानकारी दिइनेछ।
प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि उनीहरुले अब सूचना प्राप्त गर्नेछन्। यससँगै ‘पे–एज–यू–गोज’ विकल्प उपलब्ध हुनेछ। जसमा ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा पाउनेछन्
मानन्धरका अनुसार युएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यो फिचर पाउनेछन्।
मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा यो विषय समावेश गरिएको थियो।
ग्राहकलाई सहजता प्रदान गर्न कम्पनीले ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी पनि गरेको छ। यस प्रणालीअन्तर्गत ग्राहकले एकपटक पेश गरेको विवरण पुनः उपलब्ध गराउनुपर्ने झन्झट हट्नेछ। यो व्यवस्था आगामी ३० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, इ–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने योजना अघि बढाइएको छ ।
दूरसंचार सेवामा पहुँच र सहजिकरण बढाउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना छ। यस्तो सहायता कक्ष नेपाल टेलिकमका सबै कार्यालयमा स्थापना गरिनेछ। यसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाउने अपेक्षा लिएको छ।
यससँगै फोरजी सेवाको गुणस्तर सुधार गर्न नीतिगत परिमार्जन गर्ने तयारीसमेत थालिएको छ। मन्त्रालयका अनुसार ३० दिनभित्र आवश्यक नीति संशोधन गरि थप फ्रिक्वेन्सी उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसले इन्टरनेट गति र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ।











