अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको साघुँरो जलमार्गको सुरक्षा गर्न विभिन्न देशसँग छलफल भइरहेको बताएका छन्। फ्लोरिडाबाट वाशिंगटन फर्कने क्रममा उनले पत्रकारहरूसँग कुरा गर्दै करिब ७ वटा देशसँग पानीजहाजहरूको सुरक्षा गर्ने विषयमा कुरा भएको बताए।
ट्रम्पले चीनलाई पनि सहभागी हुन प्रस्ताव गरेको बताए। उनले चीनको धेरै तेल आपूर्ति यही मार्गबाट आउने भएकाले सहयोग गर्नुपर्ने बताए।
यद्यपि, उनले अन्य कुन-कुन देशसँग कुरा भएको हो भन्ने खुलाएनन्। उनले नेटो र अन्य देशले आफ्नो ऊर्जा आपूर्ति हुने क्षेत्रको सुरक्षा गर्नुपर्ने बताए।
ट्रम्पले सहयोग नगर्ने देशलाई अमेरिकाले याद राख्ने चेतावनी पनि दिएका छन्। केही देशसँग माइन हटाउने जहाज र विशेष प्रकारका डुंगा भएकाले ती सहयोगी हुन सक्ने उनले बताए।

ट्रम्पले सी जिनपिङसँग बेइजिङमा हुने भेटबारे पनि कुरा गरेका छन्। मार्चको अन्त्यमा तय भएको भ्रमण ढिलाइ हुन सक्ने उनले संकेत गरे। उनले चीनले भेटअघि जलमार्ग खुलाउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे।
होर्मुजको साघुँरो जलमार्ग विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिन्छ। विश्वभरको करिब २० प्रतिशत तेल यही मार्ग भएर आपूर्ति हुन्छ।
यसैबीच, भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले इरानसँगको वार्ताले भारतीय पानीजहाजलाई मार्ग पार गर्न सहयोग गरेको बताएका छन्। उनले दुई भारतीय ग्यास ट्यांकर शनिबार सुरक्षित रूपमा पार भएको जानकारी दिए। भारतले प्रयोग गर्ने ग्यासको ठूलो हिस्सा खाडी देशबाट आउने र धेरैजसो यही मार्ग हुँदै आउने उनले बताए।
आपूर्ति अवरोध हुने चिन्ताका कारण भारतका केही सहरमा ग्यास सिलिन्डरका लागि लामो लाइन देखिएको छ। केही रेस्टुरेन्टहरू अस्थायी रूपमा बन्द भएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।









