काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक लिटरमा १५ रुपैयाँले बढाएको छ। निगमलाई ग्यासमा समेत सिलिन्डरकै २१६ रुपैयाँ घाटा पुगेको छ।
आइतबार भारतबाट आएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजलमा १० रुपैयाँले मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल १७२ रुपैयाँ र डिजेल १५२ रुपैयाँमा कारोबार हुनेछ।
पढ्नुस्ः आयल निगमलाई इरान युद्धले १५ दिनमै ४ अर्ब नोक्सानी, डिजल/पेट्रोलमा लिटरमै ५० रुपैयाँसम्म घाटा
निगमलाई प्राप्त पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा २१६ रुपैयाँ घाटा छ। घाटा रकम चुलिएपछि आइतबार बसेको सञ्चालक समितिले मूल्य समायोजनको निर्णय गरेको हो।
मूल्य समायोजनपछि पनि निगमलाई आउँदो १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने जनाइएको छ। तर आम नागरिकलाई मार पार्ने भएपछि निगमको मूल्य स्थिरिकरण कोषमा रहेको पैसाबाट घाटालाई परिपूर्ति गर्ने योजना बनाएर भारतबाट आएको भन्दा कम मूल्य बढाइएको निगमले जनाएको छ।
मूल्य वृद्धिलाई निगमले बाध्यता भनेको छ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा निगमले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी दरमा बढाउनु परेको छ। यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील समेत रहेको छ। सार्वजनिक सवारीसाधनमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक वृद्धि भए तापनि सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने सवारीसाधनको सहजतालाई ध्यानमा राखी उपभोग्य बस्तुको सहज आपूर्ति एवं सार्वजनिक सवारीसाधन सहज सञ्चालनका लागि अधिकतम लचकता अपनाई कम मूल्य वृद्धि गर्ने रणनीति अपनाइएको छ।‘









