काठमाडौं। चालु आर्थिक वर्ष माघसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।
बैंकहरुले सेयर धितोमा गरेको ऋण लगानी गत असारसम्मको तुलनामा ११ प्रतिशत धेरै हो। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा पछिल्लो ७ महिनामा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँ लगानी गरेका छन्।
गत असारसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका थिए।
१ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १०.९ प्रतिशत बढेर १ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्म ९८ अर्ब ९२ करोड रुपैयाँ थियो।
यस्तै, ५० लाखमाथि १ करोडसम्मको सेयर धितो कर्जा १८ अर्ब ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो रकम असारसम्मको तुलनामा १५.५ प्रतिशत धेरै हो। यसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर सस्तिएसँगै बजारमा मझौलाखालका लगानीकर्ताले लगानी बढाइरहेको देखाउँछ।
यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ९.५ प्रतिशत बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्मभन्दा ६.७ प्रतिशत धेरै हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितताका कारण सुस्ताएको सेयर बजार प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएसँगै माघमा उकालो लागेको थियो।
फागुन २१ गते निर्वाचन सम्पन्न भएर मत परिणाम आएपछि बजारमा कारोबार र सूचक उकालो लागिरहेको छ।









