नेपालमा इन्टरनेट प्रयोगमा नयाँ रेकर्ड, स्थानीय ट्राफिक पहिलो पटक १०० जीबीपीएस पार



बिजमाण्डू
२०८२ फागुन २७ गते ०९:२० | Mar 11, 2026
नेपालमा इन्टरनेट प्रयोगमा नयाँ रेकर्ड, स्थानीय ट्राफिक पहिलो पटक १०० जीबीपीएस पार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेका बेला नेपालमा इन्टरनेट प्रयोगको ट्राफिकले नयाँ कीर्तिमान बनाएको छ। निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा इन्टरनेट एक्सचेन्जको ट्राफिक पहिलोपटक १०० जीबीपीएस पुगेको हो।

Tata
GBIME
Nepal Life

नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआइएक्स)मा उपलब्ध ट्राफिक ग्राफअनुसार मतगणना सुरु भएपछि दैनिक रूपमा इन्टरनेट प्रयोग उल्लेखनीय रूपमा बढेको देखिएको छ।

एनपीआइएक्सका संचालक समित जनाका अनुसार चुनावको समयमा इन्टरनेट प्रयोगकर्ता संख्या बढेकै कारण इन्टरनेट एक्सचेन्जको डेटा ट्राफिक १०० जीबीपीएस पुगेको हो।

उनले भने, ‘नेपालको लोकल ट्राफिकले पहिलोपटक तीन अंकको माइलस्टोन पार गरेको हो। यसमा निर्वाचन र टी–२० क्रिकेट प्रतियोगिताले पनि भूमिका खेलेका छन्।’

उनका अनुसार मतगणना र टी–२० क्रिकेटका कारण समाचार पोर्टल, सामाजिक सञ्जाल तथा प्रत्यक्ष प्रसारणमार्फत नतिजा हेर्ने प्रयोगकर्ताको संख्या बढ्दा इन्टरनेट प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो।

टेलिकम, इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा मोबाइल अपरेटरहरूको डोमेस्टिक ट्राफिक पनि बढ्दै गएको उनले बताए। घरेलु प्रयोगकर्ताको संख्या बढ्दै जाँदा डोमेस्टिक ट्राफिकमा सुधार हुँदै गएको र यसले इन्टरनेटको गति सुधार्नुका साथै अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भरता घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

‘नेपालमा करिब २ हजार ५ सय जीबीपीएस अन्तर्राष्ट्रिय डेटा क्षमता रहेको छ। त्यसमध्ये करिब १०० जीबीपीएस ट्राफिक डोमेस्टिक रूपमा पुग्नु नेपालको लागि निकै सकारात्मक उपलब्धि हो,’ उनले भने।

उनका अनुसार इन्टरनेट प्रयोगकर्ता संख्या निरन्तर बढ्दै गएको अवस्थामा यस्तो उपलब्धिले आगामी दिनमा डिजिटल सेवा, अनलाइन मिडिया तथा डिजिटल अर्थतन्त्रको विस्तारका लागि बलियो आधार तयार पार्ने अपेक्षा गरिएको छ।