काठमाडौं। निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पोखरामा आफ्नो सेवा कार्यालय पुनः संचालनमा ल्याएको छ। सिर्जना चोकस्थित एनसेल सेन्टर बिहीबारदेखि पुनः संचालनमा आएको हो।
जेनजी आन्दोलनका बेलामा भएको तोडफोडमा क्षति पुगेपछि कार्यालय बन्द थियो। मर्मत र पुनर्निर्माणपछि पुनः संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका मानव संसाधन अधिकृत यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन्।
सेवा कार्यालयमा क्षति पुगेपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो।
दाहालले भनिन्, ‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनः संचालनमा ल्याउन पाएकोमा खुसी छौं।’
ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सुविधा दिन सेन्टर पुनः संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। यो सेन्टरबाट ग्राहकले कम्पनीले दिने सबै सेवा प्राप्त गर्न सक्ने जनाइएको छ।
एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन्।
यसैगरी, ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई-सिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।











