सान फ्रान्सिस्को। कोरियन टेक ब्राण्ड सामसङले बुधबार आफ्नो स्मार्टफोनको प्रिमियम सिरिजमा नयाँ ग्यालेक्सी एस२६ शृंखला सार्वजनिक गरेको छ। यो स्मार्टफोन अघिल्ला दुई पुस्ताभन्दा अझ व्यापक एआई सुविधासहित नयाँ ‘प्राइभेसी डिस्प्ले’ मोड घोषणा गरेको हो। यो मोडले अर्काको मोबाइलको स्क्रीन परबाट चिहाउनेले त्यसमा देखिएको के हो भन्ने खुट्याउनै सक्दैनन्।
मार्च ११ देखि बजारमा उपलब्ध हुने ग्यालेक्सी एस२६ शृंखलामा आधारभूत र मध्यम मोडेलको मूल्य १० देखि १३ प्रतिशतसम्म बढाइएको छ भने अल्ट्रा मोडेलको मूल्य अघिल्लो वर्षकै जति कायम गरिएको छ। सामान्य ग्यालेक्सी एस२६ को मूल्य ८९९ डलर र प्लस मोडेलको १,०९९ डलर तोकिएको छ, जुन अघिल्ला दुई वर्षमा सार्वजनिक समान मोडेलभन्दा १०० डलर बढी हो। ग्यालेक्सी एस२६ अल्ट्राको मूल्य भने १,२९९ डलरमै यथावत् राखिएको छ।
स्मार्टफोन बजारको चलनअनुसार यसपटक पनि क्यामेरा र ब्याट्रीमा सुधार गरिएको छ, किनकि यी नै विशेषता प्रयोगकर्ताले उपकरण फेर्ने कि नफेर्ने भन्ने निर्णयमा निर्णायक मानिन्छन्।
एस२६ अल्ट्रामा मात्र उपलब्ध ‘प्राइभेसी डिस्प्ले’ सुविधा सक्रिय गरेपछि स्क्रिनका पिक्सेल यसरी परिवर्तन हुन्छन् कि सिधै माथिबाट हेर्दा मात्र स्पष्ट देखिन्छ। छेउबाट हेर्दा स्क्रिन बन्दजस्तै देखिने भएकाले वरपर उभिएका वा बसेकाले गोप्य जानकारी चिहाउन सक्दैनन्। वित्तीय वा अन्य संवेदनशील एपहरू सधैं यही मोडमा खुल्ने गरी नियन्त्रणसमेत मिलाउन सकिन्छ।
पीपी फोरसाइटका विश्लेषक पाओलो पेस्काटोरेले ‘प्राइभेसी डिस्प्ले’ एआईको भीडमा छुट्टै उभिन सक्ने प्रभावशाली सुविधा बन्न सक्ने बताएका छन्।
यसका साथै सामसङले एआईलाई आफ्नो मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न निरन्तरता दिएको छ। दुई वर्षअघि देखि सुरु गरिएको एआई–केन्द्रित रणनीतिलाई थप सशक्त बनाउँदै कम्पनीले यसपटकका उपकरणहरूलाई बहुउद्देश्यीय ‘एजेन्टिक एआई’ फोनका रूपमा चित्रण गरेको छ। कम्पनीका डिभाइस एक्सपेरियन्स प्रमुख टिएम रोहले एआई दैनिक जीवनका उपकरणमार्फत सहज रूपमा उपयोग गर्न मिल्ने पूर्वाधार बन्नुपर्ने बताए।
नयाँ शृंखलामा समावेश एआईले प्रयोगकर्ताका लागि सूचना र सामग्री खोजिदिने, विभिन्न काम छिटो सम्पन्न गरिदिने दाबी गरिएको छ। अघिल्ला वर्षझैँ यसपटक पनि स्यामसङले गुगलको ‘जेमिनी’ प्रविधिमा निर्भरता बढाएको छ भने अनलाइन सूचना खोज्न परिचित ‘आन्सर इन्जिन’ सञ्चालन गर्ने उदीयमान कम्पनी ‘पर्प्लेक्सिटी’को सहायक विकल्प पनि थपेको छ।
फोटो सम्पादनका लागि थप उपकरणहरू समेत समावेश गरिएका छन्। उदाहरणका लागि, अगाडिको क्यामेराबाट खिचिएको सेल्फीमा विषयवस्तुको छालाको रङ स्वतः कोमल देखिने सुविधा उपलब्ध हुनेछ।
एआई प्रविधि एप्पल र गुगलका उपकरणहरूमा समेत विस्तार भइरहे पनि यो रणनीति उपभोक्तामाझ कत्तिको लोकप्रिय छ भन्ने अझ स्पष्ट छैन। एप्पलले दुई वर्षदेखि आफ्नै एआई प्रणाली प्रचार गरे पनि प्रतिज्ञा गरिएका सबै सुविधा अझै उपलब्ध गराउन सकेको छैन। भर्चुअल सहायक सिरीलाई सशक्त बनाउन एप्पलले गुगलको सहयोग लिनुपर्ने अवस्था आएको उल्लेख गरिएको छ।
यद्यपि ती सीमितताका बाबजुद एप्पलको आइफोन पछिल्ला तीन वर्षदेखि विश्वकै सर्वाधिक बिक्री हुने स्मार्टफोनका रूपमा कायम छ। यो स्थान स्यामसङले सन् २०२२ मा अन्तिम पटक ओगटेको थियो, अन्तर्राष्ट्रिय डाटा कर्पोरेशनका अनुसार।
विश्लेषक पेस्काटोरेका अनुसार एआई अझै प्रयोगकर्ताले खोजेरै रोज्ने प्रमुख सुविधा बनेको छैन। उनका शब्दमा, एआईले ‘दैनिक बानी’ जस्तो अनुभव दिन सक्नुपर्छ। चकाचक प्रदर्शनभन्दा पनि समय बचत गरिदिने, उपयोगी र सहज सुविधा बन्नु नै यसको ठूलो अवसर हो। (एपी)











