धरान। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई फकाउन उम्मेदवारले केही कसर बाँकी राखेका छैनन्। ‘रोटी बेल्नेदेखि जेरी पकाउनेसम्म’ को ‘हर्कत’ गरेर मतदाताको मत तान्न उम्मेदवार व्यस्त छन्। तर, सुनसरी-१ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई फरक छन्। उनको भोट माग्ने शैली ‘अर्ग्यानिक’ छ। उनी मतदाताका अघि मिठो बोल्दैनन्, आफ्नै शैलीमा भन्छन्,- ‘हर्क साम्पाङ झुटो कुरा बोल्नु, मिठो कुरा बोल्नु अनि भोट दिन्छु भन्यो भने म झुटो कुरा चैँ बोल्ने वाला छैन, बरु मलाई भोट नदिनु।’
अरु दल र उम्मेदवारले रवाफिलो चुनावी प्रचारका लागि होडबाजी गर्दा उनी सिटी सफारी र बस चढेर मतदाता भेटिरहेका छन्। आफैं आफ्नो एजेण्डा र कार्ड बाँड्छन्। आफ्ना शुभेच्छुकका साथ भोट माग्न हिंडिरहेका बेला ४३ वर्षीय उनै हर्कराज राई साम्पाङलाई बिजमाण्डूका प्रकाश भण्डारी र सविन ढकालले सोधे –दिनमा कति घण्टा हिँड्नुहुन्छ मत माग्न घरदैलोमा?
हाम्रो त बिहानदेखि बेलुकासम्म हुन्छ नि हो। धेरै खट्नुपर्छ, देशको लागि खट्नुपर्यो नि।
चुनावी प्रचारको शैली यस्तै हुन्छ कि अलि फरक खालको पनि हुन्छ?
हाम्रो घरदैलो त लगभग यस्तै खालको हुन्छ। आमसभा अलि फरक खालको हुन्छ।

कुनै समय तपाईं एक्लै माइक बोकेर घरघर पुग्नुहुन्थ्यो अहिले यत्रो साथ पाउनु भएको छ, आम मानिसले तपाइँसँग के आशा गरेका रहेछन्?
आम मानिसले भ्रष्टाचार नगरोस् भन्ने आशा गरेको छन्। भ्रष्टाचारले गर्दा नै देश नबनेको भन्ने चाहिँ बुझेका छन् सामान्य मान्छेले पनि। भाष्य त्यो खडा भएको छ। त्यसमा त धेरै अरु अरु कारण पनि हुन सक्छन्।
तपाईंका अभिव्यक्ति पनि जनतालाई ठ्याक्क छुने खालको हुन्छन् हैन?
मान्छे हेरेर गर्छु म। अलि विरोधी कित्ताको छ भने त्यही तरिकाको कुरा गर्छु। त्यही हो।
तपाईंको शैलीलाई मान्छेले अलि बढी हेरिराछन्, कतै गीत पनि गाइदिनुहुन्छ कतै गाली पनि गरिरहनु भएको हुन्छ?
हैन। गाली त गर्दिन, गाली गर्नु भनेको जाँड खाने चिनी खाने भन्ने हो। फलानाको छोरा भन्ने हुन्छ, गाली त त्यो हो। यसलाई गाली होइन, कमेन्ट भन्छ के। कमेन्ट त मलाई पनि गर्छन् नि। तपाईको दारी किन पालेको भन्न त पाउँछु नि ! त्यसलाई गाली भन्न मिलेन।
फ्याक्ट कुरा गर्या हो मैले। फ्याक्ट कुरालाई गाली भन्छ मान्छेले।
बिहान कति बजेदेखि घरदैलो सुरु हुन्छ? अरुबेला पनि तपाईं यस्तै हो कि?
बिहान ५/६ बजे उठिन्छ क्यारे। पहिला जस्तो छैन मलाई। एक्लै फुत्त उफ्रेर कता कुदिहाल्थेँ रमाइलो हुन्थ्यो। अहिले फेरि नरमाइलो भएको भन्ने होइन। पार्टी संगठन भयो, साथीभाइहरु जोडिदै जानुभयो। दस ठाउँबाट आइराख्नु हुन्छ एकाबिहानै भेटौं भनेर। अनि उहाँसँगै बोल्दाबोल्दै उम्किनु अलि ढिलो भइहाल्छ, एक डेढ घण्टा त्यसैमा मेरो गइहाल्छ। के थियो भने म पहिला एक्लै थिए। एउटा ट्याम्पो बोलायो सुत्त गयो। हिडिहाल्यो त्यो। अब फोटो खिच्ने, अबिर र खाँदा फूल भन्ने हुँदैनथ्यो।
अहिले अलिकति स्लो भइराखेको छ। तर जे होस् खुसी लागिरहेको छ। पहिला मलाई कसैले नोटिस गर्दैनथ्यो। अहिले नोटिसेबल भएछु। तपाईंहरु नै काठमाडौंदेखि आइराख्नु भएको छ।

के छ तपाईंको क्षेत्रमा जित हारको आकलन?
म भारी मतले जित्छु। पछिल्लो माहोल हेर्दा हामी जित्न त ठुलै मतान्तरले जित्छौं। किनभने मान्छेको म अनुहार पढ्न सक्छु। कसले मलाई भोट दिन्छ, कसले दिँदैन अनुहार हेर्दै म थाहा पाउँछु।
पार्टीको हिसाबले १०९ ठाउँबाट प्रत्यक्षतर्फ उम्मेदवारी छ हाम्रो। छोटो समयमा धेरै काम गर्नु पर्यो। पार्टी पनि बनाउनुपर्ने, संगठन विस्तार गर्नुपर्ने, चुनावी प्रचार पनि गर्नुपर्ने यावत छ।
जनतालाई पानी खुवाउँछु भन्ने तपाईंको विद्रोह थियो, मान्छेले मन पनि पराए। धरानबासीले मात्र होइन विस्तारै बाहिरको मान्छेले नि मन पराए। पानी खुवाउने अभियानमा कति सफल हुनुभयो?
सफलै भएको हो। तर संघीय योजना जुन सप्तकोशीको पानी लिएर खुवाउने मेरो सपना थियो, त्यो जेनजी आन्दोलन, अरु पनि के के भयो। अर्को कुरा, मलाई अलिकति केन्द्रले विभेद गर्यो। यो मान्छेले मागेको बजेट दियो भने त भोलि फेरि यही मेयर भएर दोहोरिन्छ भन्ने उहाँहरुलाई डर थियो।
मैले २०८४ सम्म काम गर्ने त्यसपछि राष्ट्रिय राजनीति मै जान्छु भन्ने सोचेको थिए। समय आउनुभन्दा अगाडि हिँड्ने कुरा पनि हुँदैन। यस्ता कुराहरु स्ट्रेटेजिक कुराहरु पनि हुन्। कोशीबाट पानी खुवाउने कुरामा प्रचण्ड सरकारले केपी ओली सरकारले, गठबन्धन सबै जो जति थिए उहाँहरुले मलाई सहयोग गर्नुभएन।
स्थानीय एजेन्डामा काम गर्न त मेयर हुँदा सजिलो थियो होला। सांसद हुँदा त तपाईले लबिङ गर्नबाहेक कार्यकारी नभइ केही गर्न मिल्दैन। अनि सांसद भएर एजेण्डा कसरी पुरा गर्नुहुन्छ?
देश जोगाउने कुरा छ के। अहिले त मैले बराम्बर भनिराखेको छु, प्राइमरी कुरा भनेको देश बचाउने हो। देशै नरहला जस्तो स्थिति देखियो। सिंहदरबार जल्ने, सर्वोच्च अदालत जल्ने, संसद भवन जहाँ गएर अब हामीले बहस पैरवी गर्ने होला हैन। त्यही छैन। हाम्रो सभ्यतामाथि नै ‘अट्याक’ भएको हो क्या। त्यसैले देश बचाउने कुरा अहम रहन्छ। त्यसैले मैले राजीनामा गरेर यो लाइनमा आउन बाध्य भएँ। अहिले जुन खालका मान्छेहरु देखिएका छन्, ति मान्छेहरुले विदेशी हस्तक्षेप र हालिमुहाली यति धेरै बढाउँछ कि पछि हाम्रो देश हो भन्ने अनुभूत तपाईं हामीलाई हुँदैन – श्रम संस्कृतिले जितेन भने यो लेखेर राख्नु।
बाटो बनाउने, पानी खुवाउने, बिजुली खम्बा गाड्ने, बत्ती बाल्ने विषय त त्यो त भइरहन्छ नि। तर देश भन्ने कुरा चाहिँ एकचोटि गुमिसकेपछि फेरि आउँदैन। बाटो त तपाईंले अर्को साल बनाउँदा पनि हुन्छ। त्यसले गर्दा देश गुम्ने खतरा भएको कारणले श्रम संस्कृतिको निस्केको हो।

पार्टीको अध्यक्ष भएर चुनाव लड्न कतिको अप्ठेरो छ? पार्टी चलाउन पनि सकस होला।
अरु पार्टीको अध्यक्ष पनि चुनावमा हिँड्नुभएको देख्नुभयो होला नि हैन? उहाँहरु भनेको ‘डिफिकल्ट टु मिट’ ‘डिफिकल्ट टु एप्रोच एण्ड डिफिकल्ट टु कोइसन हैन त? उहाँहरु भनेको त त्यस्तो।
म तपाईलाई वचन दिन्छु आज भन्दा २० वर्ष पछाडि पनि हर्क साम्पाङ यसरी नै सहज हुन्छ। अर्को कुरा पार्टी चलाउन केही पनि चुनौती छैन मेरो लागि। म देश चलाउन निस्केको मान्छे, पार्टी चलाउन चुनौती भयो भनेर के कुरा गरिराख्नु।
तपाईं सडक बनाउनुपर्ने छ भनेर गुनासो गरिरहेका एक जना मतदातालाई भ्रष्टचारलाई भत्काउने हो भनिरहनुभएको थियो? मतदाता ‘कन्भिन्स’ हुनुभयो होला?
बाटो बनाउनलाई भ्रष्टाचार भत्काउनु पर्छ भनेको हो। कि त भ्रष्टाचार बनाउनु पर्यो बाटो भत्काउनु पर्यो, भत्केकै राख्नु पर्यो कि त भ्रष्टाचारलाई भत्काउनु पर्यो बाटो बनाउनु पर्यो। भ्रष्टाचारलाई भत्काएर बाटो बनाउनु पर्छ भनेर भन्या थिए मैले। पाँच रुपैयाँको विकास गर्नु पर्ने छ भने दुई रुपैयाँ, एक रुपैयाँ यस्तोको मात्र विकास गरिदो रहेछ क्या।
अनि बाँकी माल मिटरको घप्ला गरेर जग्गा किन्ने, घर किन्ने। नत्र कहाँ बाट ल्याउँछौ? है। विकास यसरी नभएको रहेछ क्या। अनि यो मालमिटरमा जुन घप्ला गर्छ नि हैन टेक्निकल अडिट नगरिकन यो कुरामा चाहिँ श्रम संस्कृतिले यति कडा म तपाईंको एक्सन लिन्छु के।
श्रमदाताहरुलाई म अब निर्देशन दिनेवाला छु। कुनै योजना हुँदै छ भने प्रत्यक्ष रुपमा त्यहाँ इन्जिनियरलाई हाजिर गराउनु है भनेर । राति लुकेर पिच गरिरहेको हुन्छ। किन राति लुकेर? पहिला मलाई पनि थाहा थिएन मेयर हुनु अगाडि।

रातिको २ बजे, ३ बजे पिच गर्ने हो? त्यहाँ त उपभोक्ता आउनु पर्छ होला, जनताले हेर्नु पर्छ होला, ठिक छ कि छैन हेर्नु पर्छ। यो तरिकाले चाहिँ भ्रष्टाचार हुन्छ भनेर मैले स्पष्टीकरण सोधें। अख्तियारमा लेखेको ति साथीहरुले के लगाईदिएको छन् भने हर्क साम्पाङले बाटो रोक्यो भनेर।
गीत गाउने, नाच्ने, रमाइलो गर्ने, आफ्नै धुनमा हिँड्ने मान्छे अनि कठोर बनेर काम गर्नुपर्ने राजनीतिमा कसरी आउनुभयो? तपाईंको व्यक्तित्व त अलि अनौठो छ नि।
हर्क साम्पाङ पानी जस्तो हो। एकदम सफ्ट तपाईको आँखामा लाउँदा पनि बिझाउँदैन। तपाईको मुटुमै लगाउँदा बिझाउँदैन । तर त्यही पानीले मात्रै चट्टानलाई काट्न सक्छ क्या फेरि। अरुले काट्न सक्दैन। चट्टानलाई आफ्नो सेपमा आफ्नो साइजमा आफ्नो अनुकुलतामा काट्न सक्ने पदार्थ चाहिँ पानी मात्रै हो।
म कति चोटि हिँड्दा हिँड्दै भावुक बनिरहेको हुन्छु। कहिले त धुरुधुरु रोइरहेको हुन्छु। यो देशमा कसैले साँचो सत्य बोलेर राजनीति गरेको छ भने त्यो म मात्रै हो। म कसैलाई ढाँट्दिन।
मैले भन्छु नि कति ठाउँमा तपाईं धेरै नबोल्दिनु न भन्छन्। अनि के धेरै बोल्ने भन्दाखेरि गाली नगर्नु न भन्नुहुन्छ। अनि गाली कहाँ गरे त? मैले कुनै गाली गरेको रेकर्ड छ भन्दाखेरि सिंहदरबारको कुरा ननिकाल्नु न भन्छ। सिंहदरबार जल्यो कि जलेन? जल्यो। अनि साँचो कुरा बोलोस् भन्नुहुन्छ कि हर्क साम्पाङले झुटो कुरा बोलोस् भन्नुहुन्छ भन्छु।
झुटो कुरा मलाई बोल म तलाई भोट दिन्छु भन्यो भने चाहिँ त्यस्तो भोट मलाई चाहिएन। हर्क साम्पाङ झुटो कुरा बोल्नु, मिठो कुरा बोल्नु अनि भोट दिन्छु भन्यो भने म झुटो कुरा चैँ बोल्ने वाला छैन बरु मलाई भोट नदिनु। तर म दिनलाई दिनै भन्छु रातलाई रातै भन्छु किनभने त्यति नभनिकन चैँ हाम्रो देशको रेडिकल चेन्ज हुँदैन। यहाँ सबै मान्छे जिब्रो चापाएर बोल्ने छ।

तपाईंलाई मनपर्ने कुरा मैले बोल्दिए भने तपाई खुसी भइहाल्नुहुन्छ। मैले मनपर्ने कुरा बोल्ने कि साँचो कुरा? साँचो कुरा बोल्ने होला हैन र? हामी रेडिकल चेन्जमा हामी जानु पर्छ हैन। यो बस्ती झन्डै बगाएको थियो। यहाँको पुल झन्डै भत्काको थियो बाढीले। बाढीबाट पुल जोगाउनका लागि ढुंगा जाली मेरो नेतृत्वमा काम भएको छ। रेकर्डहरु हेर्दा हुन्छ, साथीहरुले नि सघाउनु भएको छ। पानीको भेलमा ढुंगा गुड्किराएर यस्तो लाग्छ। फुटबल खेल्न जाँदा प्याड हुन्छ नि त्यस्तो प्याड चाहिने खालको हुन्छ। भन्नुको मतलब मलाई वास्ता नलाग्ने हो भने पब्लिक जेसुकै होस् भन्ने हो भने म त मेयर नगरपालिका भित्र मात्रै काम गर्ने हो। त्यो भन्दा बाहिर त आवश्यक थिएन। तर मैले त एक्स्ट्रा काम गरेँ।
जतिन्जेल मेयर भएर काम गरेँ, अफिसमा काम गरेको कुनै पनि चर्चा गरिन। त्यो अफिसको काम त इटहरीको मेयरले पनि गररहेको छ। काठमाडौंको मेयरले पनि गरिरहेको होला। पोखराको मेयरले पनि गरिरहेकै होला। तर हर्क साम्पाङले एक्स्ट्रा काम गरेर देखाउँदा मलाई फेरि ढुंगा बोक्ने मेयर मात्रै रैछ भनेर चिन्यो क्या।
तर यत्रो सालको बजेट कसले बनायो त? मैले त बनाएको होला नि हैन? अहिले बाटा बन्दैछन् कसले बनायो? कसले एजेन्डा ल्यायो? कसको नीति कार्यक्रम हो? मेरो होइन?










