राष्ट्रिय वाणिज्य बैंकले पनि सात प्रतिशत लाभांश बाँड्दै, ३१ करोड रुपैयाँले चुक्ता पुँजी वृद्धि

बिजमाण्डू
२०७७ पुष २९ गते १०:४२ | Jan 13, 2021

Tata
GBIME

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सात प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

'बैंक सञ्चालक समितिले साढे तीन प्रतिशत नगदका साथै अर्को साढे तीन प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ,' प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजमाण्डूसँग भने।

बैंकले गत वर्षबाट लाभांश वितरण गर्ने थालेको हो। अघिल्लो वर्षको नाफाबाट बैंकले पोहोर सरकारलाई चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सरकारले एक अर्ब ८ करोड रुपैयाँ पाएको थियो। 

यसपाली बैंकबाट सरकारले ३१ करोड रुपैयाँ नगद पाउने छ भने ३१ करोड रुपैयाँको सेयर पाउने छ। सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ। अहिले चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ छ। अब पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ।

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेका सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ। यी सेयरधनीले पनि बोनस सेयर पाउने छन्। 

बैंकको लाभांश वितरण क्षमता ७० करोड रुपैयाँ थियो। राष्ट्र बैंकले नगद लभांशमा कडाइ गरेपछि सरकारले पनि क्षमता अनुसारको नगद नपाएको हो।