‘राक्षसीकरणको सिकार भइएला भन्ने डर छ, यसले भतभती पोल्छ’, सुलभ खरेलको अन्तर्वार्ता



बिजमाण्डू
२०८२ फागुन ८ गते २१:२७ | Feb 20, 2026
‘राक्षसीकरणको सिकार भइएला भन्ने डर छ, यसले भतभती पोल्छ’, सुलभ खरेलको अन्तर्वार्ता

अमेरिकामा अध्ययन सकेर स्वदेश फर्किएका सुलभ खरेल अधिवक्ता हुन्। रास्वपाको कानुन, न्याय तथा मानव अधिकार विभागका उपप्रमुख रहेका खरेल रुपन्देही २ मा चुनावी मैदानमा छन्। चुनाव नजिकिँदै गर्दा पोखरेलको घरदैलोको रफ्तार बढेको देखिन्छ। यस क्षेत्रका मतदाताको मत जित्न ज्ञापनपत्र बुझ्नेदेखि कोणसभा गर्दै चुनावी दौडमा छन्। उनी उम्मेदवार सुलभ पोखरेलसँग बुटवल ११ स्थित बुद्धनगर चौपरीमा चुनावी कार्यक्रमको दौरानमा बिजमाण्डूकर्मी नेत्र तामाङले सोधे

Tata
GBIME
Nepal Life

रास्वपामा देखिएको यो वेभमा तपाईंले आफूलाई कहाँ पाउनुभएको छ?

अहिले रास्वपामा देशैभरबाट जनताले माया गरिरहनुभएको छ। अन्य राजनीतिक दल र कार्यकर्ताको पार्टी देखिएको छ। हाम्रो पार्टी विशुद्ध जनताको पार्टी देखिएको छ। चितवनभन्दा बढी रुपन्देहीमा क्रेज देखिन्छ।

यहाँ केही दिनअघि हाम्रा सभापति रवि लामिछाने पनि आउनुभएको थियो। त्यसपछि प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह पनि आउनुभएको थियो। त्यतिबेला यहाँ जनसागर ओइरिएको थियो। त्यसले पनि निश्चय नै यहाँ परिवर्तनको घण्टी लगभग बजिसकेको भन्ने देखिन्छ।

तपाईं बाहिर पढेर आउनुभयो। पूराना राजनीतिक दलले चुनावका लागि सबै प्रयोग गर्न सक्ने अभ्यास हुन्छ। त्यो तोड्न सक्ने आँट छ ?

बाहिर जति सरल देखिन्छ। भित्र उति नै बढी बिग्रिएको हुने रहेछ। पछिल्लो दिनमा रास्वपाले धेरै राम्रो मत ल्याएको थियो समानुपातिकमा। प्रत्यक्षमा अलि कम भयो। यसपटक मतदाताहरुले के भन्नुभएको छ भने बाकसको सुरक्षा चै प्रमुख जिम्मेवारी तपाईंहरुको भनेर भोट त हामी हाल्दिन्छौं भन्नुभएको छ लाक्षणिक रुपमा। विगतमा विकृत अभ्यास भयो कि भनेर।

यसलाई सुधार्नुपर्छ भनेर हामीले आफ्नो संगठन पनि बलियो बनाएका छौं। हिजोको विकृत राजनीतिलाई संस्थागत गर्ने राज्य संयन्त्र पनि त अहिले छैन नि। त्यसैले हामीले यसलाई रोक्न सक्छौं। केही अस्वस्थ प्रतिस्पर्धाको छनक देखिरहेका छौं। कुराजनीति गरेर हामीलाई चुनाव जित्नु छैन। हाम्रो राजनीति चुनावदेखि चुनावसम्ममात्र हैन। हामी देश विकास र समृद्धि होस् भन्ने कुरा हाम्रो हो।

विगतले पनि पछ्याउँछ, भदौ २४ ले लखेट्दैन तपाईलाई?

संविधान जारी भएपछि देशमा समृद्धि आउला, सुख शान्ति आउला भन्ने सबैलाई लागिरहेको थियो। हामी हरेक १० वर्षमा विद्रोह हेर्दै हुर्किएको पुस्ता हो। पछिल्लो राजनीतिक अभ्यासमा व्यक्तिले दल कब्जा गर्ने, त्यो व्यक्तिले राज्य कब्जा गर्ने प्रवृत्ति सिर्जना भयो। यही प्रवृत्तिविरुद्ध एउटा विस्फोट भयो।

यो नेपालमामात्र हैन संसारभर वेभ नै आयो। यो रोक्न सक्न सक्षम हुनुपर्छ नभए वेभ आउँछ

हामीले पहिले राणालाई शत्रु मान्यौं। त्यसपछि पञ्चायत प्रमुख शत्रु भयो। विभिन्न राजनीतिक दल मिलेरर त्यसलाई फाल्यौं। आजका दिनमा भ्रष्टाचारको जालो मुख्य शत्रु हो। यो राजनीतिक दलहरुले नै बुनेको जालो हो। यसलाई फाल्नु हाम्रो प्रमुख जिम्मेवारी हो। यसलाई फाल्न हामी लागिरहेका छौं।

तपाईं कानुनमा अभ्यास गर्नुभएको व्यक्ति। यहाँ त भूमि समस्यामा परेकाहरुले ठूलो माग राखेर ज्ञापनपत्र नै बुझ्नुभयो। यी कुरा पूरा गर्नका लागि हाम्रो आर्थिक अवस्था बलियो छैन। यसरी कमिटमेन्ट पुरा नगर्दा आफैंलाई अप्ठेरो पर्ला नि पछि?

देश नेताले बनाउने हैन। सिस्टमले बनाउने हो। यसैले यो पोलिसीको निर्वाचन हो। हामी समेतले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने विषय पनि मेरै हुन् भनेर भन्दैछौं। हिजोको केन्द्रात्मक राज्य प्रणालीबाट अघि बढ्दै गर्दाको धङधङी आज पनि भइरहेको छ।

देशका युवा अत्यधिक रुपमा बाहिर गइरहेका छन्। भ्रष्टाचार अत्यधिक छ। यतिलाई रोक्न सके लगानीको वातावरण बनाउन सके लगानीलाई प्रवर्धन गर्ने कानुन नीति बनाउन सके बुटवल आफैंमा टुरिजम हब हो। यहाँ आफैंमा हिस्टोरिकल टुरिजमदेखि कल्चरल टुरिजम व्यापार पनि राम्रै छ।

जनताका खुला इच्छा आकांक्षा छन्। यहाँ भूमाफियाले करोडौं ठगे भनेर ज्ञापनपत्र बुझाउनुभएको छ। उहाँहरुको जाहेरी लिएर जाँदा प्रहरीले लिँदैन। किन? उहाँहरुलाई कसले न्याय दिने? यही विषयमा मैले समाजको मनोविज्ञान बुझेर सामाधन गर्न सक्छु कि भनेर ज्ञापनपत्र लिएको हुँ।

यदि मैले यो कमिटमेन्ट पूरा गर्न नसके केही समयमै म राक्षस बन्छु कि भन्ने चिन्ताले पिरोल्दैन तपाईंलाई?

म मात्र निर्वाचित भएर गएँ तर रास्वपाले सरकार बनाउन सकेन भने अवश्य। यसले मलाई भतभती पोल्छ। किनभने प्रतिपक्ष भएर बस्नुपर्ला। अनि सबै प्रश्न त उठाइदिउँला तर कार्यान्वयन गर्न सक्ने ठाउँमा पुग्न सकिएन भने के गर्ने भन्ने चाहिँ राति सुत्दा पनि सोच्न बाध्य गराउँछ।

तपाईंको खास प्रतिस्पर्धी को हो?

मैले प्रणालीलाई प्रतिस्पर्धी मानेको छु। यहाँको गरिबी हो। यहाँको अशिक्षा हो। यहाँको मन्दी हो। मेरो प्रतिस्पर्धा यहाँको अभावसँग हो। विकृत अभ्यासविरुद्ध हो मेरो प्रतिस्पर्धा।

पाँच वर्ष संसदमा जाने तपाईंको एजेन्डा के हो?

पाँच वर्ष भनेको चाहिँ एकदम छोटो हुने रहेछ। हामी हिजोसम्म पछाडि फर्केको देश छ। यो नागरिक सरकार आएपछि न्युट्रलमा छौं। अब हामी फस्ट गियरमा जान्छौं। यसमा जति एक्सिलेटर दबाए पनि प्रतिस्पर्धा धेरैसँग नहोला।

अहिले ठूला माग हुँदैन। अहिले कुनै सरकारी कार्यालय जाँदा आफू अपहेलित हुन नपरोस्। भ्रष्टाचार रोकियोस्। सशासन कायम होस्।

यो क्षेत्रमा सबै समुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन सकिन्छ। कल्चर र कनेक्टिभिटीका कुरा छन्। चेन बिजनेस खुल्न सकेका छैनन्।

बाटो चाक्लो बनाउने बाहेक केही गरेका छैनन्। भारतीय पर्यटक मुक्तिनाथ जान चाहन्छन् तर यहाँ एक दिन अड्याउन सकिरहेका छैनन्। भ्यालु एड गर्नुपर्नेछ। पाँच वर्षमा सिम्बोलिक रुपमा काम गर्नेछौं। पहिलो गियर राम्रो चलायो है भन्ने पार्छौं हामी। सानासाना समस्या समाधान गरेर अघि बढ्ने हो।

बालेन प्रधानमन्त्री भएमा तपाईंको स्थान कहाँ हो क्याबिनेटमा?

पार्टीको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्ने हो। तर कानुनहरु धेरै आर्थिक रुपमा सबल हुने गरी, राज्यका निकायहरुलाई कब्जा गर्ने जुन प्रवृत्ति छ त्यसलाई नहुने गरेर, भ्रष्टाचार नियन्त्रणका लागि कानुनहरु व्यापक संशोधन गरेर जानुपर्नेछ। यसमा म डटेर काम गर्नेछु।