काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी रीना डंगोललाई दिएकी छन्।
यसअघिकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले अवकाश पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि आफैंले सम्हालेका कारण प्रधानमन्त्री कार्कीले टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रुपमा कार्यरत डंगोललाई शुक्रबार निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएकी हुन्।
डंगोलले शुक्रबार नै जिम्मेवारी सम्हालेकी छन्। बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकी डंगोल २०५१ जेठ १ गते अस्थायी इन्जिनियरका रुपमा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी थिइन्। उनले २०५२ जेठ ९ मा स्थायी नियुक्ति पाएकी थिइन् ।
उनी २०८० जेठ ३२ गते नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएकी थिइन्। प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकका रुपमा काम गरिसकेकी डंगोल पछिल्लो समय प्रमुख प्राविधिक अधिकृतका रुपमा कार्यरत थिइन्।
निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम काम गर्ने बढ्ने बताइन्।
‘कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने छु,’ उनले भनिन्।
टेलिकममा प्रबन्ध निर्देशकको पद गत जेठ अन्तिम सातादेखि रिक्त छ। तत्कालीन प्रबन्ध निर्देशक संगीता अर्याल पहाडी बिलिङ प्रणालीको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ करोड ४८ लाख रुपैयाँ बिगोसहित जेठ २५ गते भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेकी थिइन्।
त्यसपछि जेठ २८ गते तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएका थिए।










