कर्मचारीले घूस मागेको बताउने चिनियाँ लगानीकर्तालाई उद्योग विभागले छलफलका लागि बोलायो

बिजमाण्डू
२०७७ मंसिर २१ गते १४:०८ | Dec 6, 2020
कर्मचारीले घूस मागेको बताउने चिनियाँ लगानीकर्तालाई उद्योग विभागले छलफलका लागि बोलायो


Vigo
GBIME
Tata

काठमाडौं। विदेशी लगानीकर्ता यीङ हु सुआन (डेबिड)लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाएको छ।

२४ वर्षअघि नेपालमा व्यवसाय गर्न आएका सुआनले उद्योग दर्ता प्रक्रियामै कर्मचारीले घूस मागेको सार्वजनिक गरेका थिए। उनले कर्मचारीको असहयोगका कारण लगानी गर्न अप्ठेरो भएको बताएपछि उद्योग सचिव चन्द्रकुमार घिमिरेले चासो लिएका थिए। उनले शुक्रबार नै उद्योग विभागका महानिर्देशक जीबलाल भुसाललाई टेलिफोन गरेर सुआनको मुद्दाका बारेमा सोधेका थिए।

‘सुआनले उद्योग दर्ताका बारेमा भोगेका समस्यापछि विभागका महानिर्देशक भुसालजीसँग सोधेको थिए। यो उहाँ आउनुभन्दा पहिलाको समस्या रहेछ,’ घिमिरेले बिजमाण्डूसँग भने, ‘पहिलाको मुद्दा भए पनि तत्कालै लगानीकर्तालाई बोलाएर छलफल गर्न निर्देशन दिएको छु।’ यो निर्देशनपछि भुसालले सोमबार सुआनलाई भेट्न बोलाएका हुन्।

घिमिरेले विदेशी लगानीकर्ताले उद्योग दर्तामा कुनै समस्या भए तत्कालै समाधान गर्न समेत निर्देशन दिएको बताए। ‘देशभित्र वैध रूपमा लगानी ल्याउन चाहेका विदेशी लगानीकर्तालाई झझण्ट बिना उद्योग दर्ता लगायतका प्रक्रिया पूरा गराउने हाम्रो दायित्व हो। कर्मचारीले लगानीकर्तासँग कुनै मोलाहिजा गर्न पाइँदैन्,’ सचिव घिमिरेले भने, ‘कसैले दायित्व विर्सिएर लगानीकर्तालाई हत्तोसाहित गरेमा कारवाहीको भागीदार बन्नुपर्छ।’

सुआनले पनि आफूलाई उद्योग विभागबाट बोलावट आएको बताए। ‘मलाई विभागबाट सोमबार ११ बजे बोलाइएको छ,’ उनले भने, ‘मैले आफूले भोगेको सबै समस्या त्यहाँ पनि राख्छु।’ सुआन २४ वर्षदेखि व्यवसाय गर्ने सिलसिलामा नेपालमा छन्। उनले नेपालमा विदेशी लगानीलाई कानुन अनुसार कर्मचारीले सहयोग नगरेको बताउँदै आएका छन्।

उनले सुरुमा हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरी काम सुरु गरेका थिए। सो उद्योग असफल भएपछि ग्यास उद्योग खोल्ने तयारी गरेका थिए। सो उद्योगले अनुमति नपाएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी गरेका थिए। यो क्षेत्र पनि स्वीकृति नपाएपछि उनले हाल २० जना लगानीकर्ताहरुसँग सेनन हर्बल मेडिसिन प्रोडक्सन दर्ता गरेका छन्।