काठमाडौं। वर्षको ६ महिना बितेपछि बल्ल बैंकरहरुमा केही आशा पलाएको छ। ब्याजदर निरन्तर घटाउँदा पनि पैसा थुपारेर राख्नुपरेका कारण निराश बैंकरहरु पछिल्लो महिना देखिएको ऋणको मागका कारण केही आशावादी बनेका हुन्।
राष्ट्र बैंकको खुकुलो नीति र बजारमा आर्थिक गतिविधि बढेसँगै ऋणको माग बढ्न थालेको छ। मंसिरयता ऋणको माग निरन्तर बढेको बैंकरहरूले बताएका छन्। उनीहरुको भनाइलाई तथ्यांकले पनि पुष्टि गर्छ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक महिनामा ५१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। मंसिर २८ देखि पुस २७ सम्म ५१ अर्ब रुपैयाँ ऋण प्रवाह भएको हो।
चालु आर्थिक वर्ष चार महिना अर्थात कात्तिक मसान्तसम्म बैंकहरूले जम्मा ७३ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। कर्जा लगानी मंसिरमा २६ अर्बले बढेकामा पुसको २७ दिनमा ४६ अर्ब रुपैयाँ प्रवाह भएको छ।
उपभोग बढ्न थालेपछि कर्जाको माग बढेको बैंकरहरू बताउँछन्। घट्दो ब्याजदरका कारण उपभोग क्षेत्रमा जाने कर्जाको माग बढ्न थालेको उनीहरूको भनाइ छ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द घिमिरे पछिल्लो समय कर्जाको माग आउन थालेको बताउँछन्।
‘उपभोग बढ्न थालेको छ। त्यसले पनि कर्जाको माग बढाउन सहयोग गरेको छ,’ उनले भने, ‘ब्याजदर धेरै नै तल आइसकेकाले अब कर्जा क्रमशः बढ्नेमा हामी आशावादी छौं।’
पछिल्लो तीन वर्षदेखि कर्जा लगानी सुस्त हुँदा अहिले बैंकहरूमा साढे ११ खर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम छ। जसका कारण ब्याजदर निरन्तर घटिरहेको छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय पूर्वाधार र उपभोग क्षेत्रमा कर्जाको माग बढेको बताउँछन्। ‘पूर्वाधार क्षेत्रमा कर्जा जान थालेको छ। यसअघि अप्रुभल भएका हाइड्रो लगायत परियोजनामा केही कर्जा गइरहेको छ,’ उनले भने, ‘सेयर कर्जा, गोल्ड लोन, अटो र सानो सानो भोलुमको घर जग्गा कर्जाको पनि माग आइरहेको छ।’
निर्माण गतिविधि बढ्न थालेसँगै पूर्वाधारको क्षेत्रमा कर्जाको माग बढ्न थालेको हो। पछिल्लो महिनामा निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूले मात्र झन्डै ५ अर्ब कर्जा विस्तार गरेका छन्।
अहिले उपभोग क्षेत्रमा एकाएक कर्जाको माग बढ्नुका साथै सेयर कर्जा, गाडी कर्जा, बिजनेस कर्जा र एसएमई कर्जामा सस्तो दरका स्किमले समेत ऋण लगानी विस्तार गर्न सहयोग पुगेको छ। बैंकहरुले पछिल्लो महिनामा अटो लोन ६ अर्ब र सेयर लोन २ अर्ब बढाएका छन्।
उपभोग कर्जा बढ्दा बजार भाइब्रेन्ट देखिन थालेको छ। बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितो, मुद्दती निक्षेप धितो, ग्यारेन्टी बन्ड, क्रेडिट कार्डलगायत शीर्षकमा प्रवाह भएको कर्जालाई उपभोगमा राख्ने गरेका छन्।
बैंकरहरुका अनुसार सुनको मूल्य बढेसँगै ग्राहकले ऋणको मात्रा बढाउन थालेका छन्। हिजो ५ तोला सुन धितो राख्नेले ५ लाख ऋण लिने गरेकामा अहिले १२/१५ लाखसम्म लिइरहेको अर्को बैंकका सीइओले बताए।
‘औसत बेसरेट ५ प्रतिशत हाराहारीमा आइसकेकाले सानो-सानो भोलुमको कर्जाको माग आउन थालेको छ,’ ती सीइओले भने, ‘आवासीय घर निर्माण कर्जा, अटो कर्जा, आयात कर्जाको माग बढ्दै गएको छ।’
अहिले गैर बैंकिङ सेटलमेन्ट गर्न फाइनान्सिङ सुविधा दिएकाले पनि कर्जा केही बढेको बैंकरहरुको भनाइ छ।
राष्ट्र बैंकले कर्जा लगानीलाई प्रोत्साहन गर्न एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ। मौद्रिक नीतिमार्फत घर कर्जामा लोन-टू-भ्यालु रेसियो बढाउनुका साथै सीमा वृद्धि गरेको राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत ओभर ड्राफ्ट कर्जाको सीमा पनि बढाएको छ।
राष्ट्र बैंकले प्रयोजन नै खुलाउन नपर्ने क्षेत्रमा ५० लाखसम्म कर्जा दिन पाउने सुविधालाई १ करोड पुर्याएर ऋण लगानी गर्न प्रोत्साहन गरेको हो। बैंकका सीइओहरुका अनुसार ठूला उद्योगी व्यवसायीबाट भने अझै कर्जाको माग आएको छैन।










