बैंकहरुको ऋण असुलीमा सुधार, गैर बैंकिङ सम्पत्तिको बिक्री पनि बढ्यो, कस्तो आउला रिपोर्ट?



आकाश बोगटी
२०८२ माघ १ गते १४:५५ | Jan 15, 2026
बैंकहरुको ऋण असुलीमा सुधार, गैर बैंकिङ सम्पत्तिको बिक्री पनि बढ्यो, कस्तो आउला रिपोर्ट?

काठमाडौं। बैैंकहरुको कर्जा असुलीमा मंसिरयता सुधार देखिएको छ। घट्दो ब्याजदरले उपभोग वृद्धि भइ आर्थिक गतिविधि बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा सुधार देखिएको हो।

Tata
GBIME
Nepal Life

गैर बैंकिङ सम्पत्तिको विक्रीले पनि कर्जा असुलीमा टेवा दिएको छ। बैंकरहरुले उपभोगमा वृद्धि र गैर बैंकिङ सम्पत्तिको बिक्री बढेका कारण ऋण असुलीमा सुधार भएको बताए।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइराला उपभोगमा वृद्धिका कारण बढेको आर्थिक गतिविधिको प्रभाव ऋण असुलीमा परेको बताउँछन्।

‘पहिलो त्रैमासमा बाढी पहिरोसँगै जेननी आन्दोलनले ऋण असुलीमा असर गर्‍यो। नियमित असुलीमा समेत समस्या थियो,’ कोइरालाले भने, ‘अहिले नियमित ऋण असुली भइरहेको छ। आर्थिक गतिविधि बढेका कारण दोस्रो त्रैमासमा ऋण असुली राम्रो भइरहेको छ।’  

ऋण असुलीसँगै गैर बैंकिङ सम्पत्ति बिक्री हुँदा त्यसले बैंकको खराब कर्जा घट्नुका साथै प्रोभिजनिङ घटेर नाफा बढ्ने र पुँजी बलियो हुनेछ।

खराब कर्जा र गैर बैंकिङ सम्पत्तिले ब्यालेन्स सिट बिग्रिने भयका कारण बैंकहरुले असुलीमा ध्यान केन्द्रित गरेका छन्।

ऋण असुली प्रभावित हुँदा पहिलो त्रैमासमा बैंकहरुको प्रोभिजनिङ बढेर नाफा प्रभावित भएको थियो। पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुको औसत खराब कर्जा नै ५ प्रतिशतभन्दा माथि पुगेको थियो।

अहिले नियमित असुलीसँगै आफूहरु गैर बैंकिङ सम्पत्ति घटाउन सफल भएको अर्का एक सीइओले बताए। उनका अनुसार काठमाडौं उपत्यकाका साथै देशका सहरी क्षेत्रमा गैर बैंकिङ सम्पत्तिको खरिद बिक्री बढेको छ।

‘गैर बैंकिङ सम्पत्ति (घरजग्गा) खरिद गर्नेहरु बढेका छन्। काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा सानो सानो भोलुमका आवासीय र कमर्सियल घर जग्गा बिक्री भइरहेको छ,’ ती सीइओले भने, ‘जसले गर्दा हामीलाई अहिले राहत पुगेको छ।’

गैर बैंकिङ सम्पत्ति किन्न चाहनेहरुलाई बैंकहरुले न्यूनतम ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराइरहेका छन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति घट्दै आएको देखिन्छ। कात्तिकमा ७ करोडले घटेको गैर बैंकिङ सम्पत्ति मंसिरमा १४ करोड घटेको छ। पुसमा ‘राम्रो’ भोलुममा घटेको बैंकरहरुको भनाइ छ।

सहकारीको धितो लिलामीमा मुद्दा मामिला धेरै हुन थालेपछि अहिले त्यताका ग्राहक बैंकतर्फ आउन थालेका छन्।

सहकारी र घरजग्गा व्यवसायीको मिलोमतोमा बिक्री गरिने धितोमा ऋणीले मुद्दा हाल्ने घटना बढेपछि ग्राहकहरु बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति खरिद गर्नतिर लागेका हुन्।