वीरगंजको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?

बिजमाण्डू
२०७७ कात्तिक १ गते १६:५९ | Oct 17, 2020

Tata
GBIME

वीरगंज। प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा छापा मार्दा लुकाइराखेको ठूलो मात्रामा सुन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज-५ रेशमकोटीस्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन बरामद गरेको हो। अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा सुन भेटिएको प्रहरीले जनाएको छ।

फ्ल्याट भारतको बिहार पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको भएको खुलेको छ। उनी रक्सौल विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाइ हुन्। अवैधरूपमा सुन राख्ने कसैलाई प्रहरीले पकर्माउ गरिसकेको छैन।

अपार्टमेन्टबाट १ केजीको १३ वटा सुनको बिस्कुट, सुनको बिस्कुट मझौला 5 TAELS 9999 Gold लेखिएको ४६ पिसको ८ किलो ५७६ ग्राम र ६ सय ८१ ग्राम सुनको गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै चाँदीका गरगहना समेत २ केजी २६२ ग्राम बरामद गरेको हो।

प्रहरीले करिब दुई घण्टा लगाएर अपरेसन गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।