नयाँ वर्षको प्रारम्भमा सुनचाँदी घट्यो, सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ



बिजमाण्डू
२०८२ पुष १७ गते ११:०९ | Jan 1, 2026
नयाँ वर्षको प्रारम्भमा सुनचाँदी घट्यो, सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ


काठमाडौं। सन् २०२६ को पहिलो दिन अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेको छ। बिहीबार सुन प्रति औंस ४३२५ डलर र चाँदी प्रति औंस ७१.४७ डलरले कारोबार भइरहेको छ।

Tata
GBIME

२०२५ को अन्तिम दिन सुन प्रतिऔंस ४३३४.८८ डलर र चाँदी प्रतिऔंस ७१.८३ डलर थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि एकैदिन सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ भएको छ। यसअघि मंगलबारका तुलनामा बुधबार १ हजार १०० सय रुपैयाँले घटेर प्रति तोला २ लाख ६१ हजार रुपैयाँ भएको थियो।

चाँदीको कारोबार मूल्य ५५ रुपैयाँले घटेर बिहीबार प्रति तोला ४ हजार ४१५ रुपैयाँमा आइपुगेको छ। अघिल्लो दिन प्रति तोला ४ हजार ४ सय ७० मा कारोबार भएको थियो।

बजार विश्लेषकहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ क्रमिक घट्न थाल्नुका केही खास कारणहरु छन्। बजार उच्च बिन्दुमा पुगेपछि लगानीकर्ताहरूले आफूसँग भएको सुनचाँदी बेचेर नाफा निकाल्न थालेका छन्। अमेरिकी संघीय रिजर्भ (फेड)को आगामी नीति र डलरको मजबुतीले पनि मूल्यमा केही दबाब सिर्जना गरेको छ। रुस-युक्रेन र मध्यपूर्वको तनावमा केही मत्थर हुने संकेत वा शान्ति वार्ताका प्रयासहरूले पनि सुरक्षित लगानीको रूपमा रहेको सुनको माग घटाएको हुन सक्ने अनुमान छ।