नयाँ गाडी किन्नेलाई महँगो पर्ने निश्चित, ब्राण्ड अनुसार ५० हजारदेखि ३ लाखसम्म बढाउने तयारी



शुक्र गिरी
२०८२ पुष १८ गते १२:२१ | Jan 2, 2026
नयाँ गाडी किन्नेलाई महँगो पर्ने निश्चित, ब्राण्ड अनुसार ५० हजारदेखि ३ लाखसम्म बढाउने तयारी
Picture made with Chat GPT

काठमाडौं। नेपालका अधिकांश प्यासेन्जर भेहिकल बिक्रेताले गाडीको मूल्य बढाउने भएका छन्। उत्पादकले कच्चा पदार्थ, डलरको भाउ वृद्धि लगायत कारण देखाउँदै मूल्य बढाएकाले नेपाली बिक्रेता दबाबमा परेका हुन्।

Tata
GBIME
Nepal Life

विश्व बजारमा कार निर्माणमा प्रयोग हुने प्रमुख वस्तु स्टील, तामा, आल्मुनियम र महत्त्वपूर्ण बहुमूल्य धातुहरुको मूल्य बढेको छ। यी धातु कारको बडी बनाउन तथा आधुनिक इन्जिन र जटिल इलेक्ट्रोनिक प्रणालीका लागि आवश्यक मानिन्छन्।

डोङफेङ नामीको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स(एमएडब्लू) वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रसन्न पन्त डलरको भाउ वृद्धिले गाडीको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताए।

‘यसअघि अन्तर्राष्ट्रिय बजारमै मूल्य बढ्दा पनि मार्जिन कम राखेर गाडी बेचेका थियौं। तर, अब नसक्ने अवस्था आएकाले मूल्य बढाउनुपर्ने अवस्था आएको हो,’ पन्तले भने।

व्यवसायीहरुले विभिन्न ब्राण्डका गाडीहरुमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म मूल्य बढाउने तयारी गरिरहेका छन्। व्यवसायीहरुका अनुसार यही जनवरीदेखि विभिन्न मोडेलका गाडीको मूल्य २ देखि ३ प्रतिशतसम्म बढ्न सक्छ।

उदाहरणका लागि, अहिले ४० लाख रुपैयाँ मूल्य पर्ने कारका लागि अब १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म थप तिर्नुपर्ने हुन सक्छ।

केही प्रिमियम ब्रान्डको मूल्य भने त्यो भन्दा पनि धेरै बढ्न सक्ने व्यवसायीहरु बताउँछन्।

ओमोडा एण्ड जेको गाडी बिक्रेता शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा डलरकै कारण मूल्य बढाउनुपर्ने अवस्था आएको बताए।

‘हामीले बाध्यताका कारण मूल्य बढाउन लागेका हौं। डलरको रेट गत जुलाईमा १ डलर बराबर १३६.५० रुपैयाँ थियो। अहिले १ डलर बराबर १४४.२५ रुपैयाँ पुगेको छ। यसले गर्दा डलरको मूल्य नै लगभग ७ प्रतिशतले बढेको अवस्था छ,’ उनले भने, ‘जसले गर्दा हामीले अहिले दिइरहेको मूल्यमा नयाँ गाडी दिन नसक्ने अवस्था आयो।’

नेपालमा केही ब्रान्डले भने आफ्नो स्टक धेरै भएका कारण पुरानै मूल्य राखेर अफर ल्याउने तयारी गरिरहेका छन्।

बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकले भने अहिले तत्कालै मूल्य नबढाउने जानकारी दिएको छ। साइमेक्स इंकका नेसनल सेल्स एण्ड बिजनेस डेभलपमेन्ट आशुतोष गौतमले मूल्यभन्दा डेलिभरीलाई प्राथमिकतामा राखेको जानकारी दिए।

‘अहिले आन्तरिक रुपमा मात्रै छलफल चलिरहेको छ। पुरानो डेलिभरी कसरी सक्ने भन्ने कुरामा मात्रै हाम्रो ध्यान केन्द्रित छ,’ उनले भने। गौतमका अनुसार बुकिङ गरेका गाडी दिइसकेपछि मूल्य बढाउने विषयमा छलफल हुनेछ।

भारतमा जनवरी १ देखि विभिन्न ब्रान्डले कारको मूल्य बढाइसकेका छन्। त्यहाँ पनि २ देखि ३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।

भारतका उत्पादक कम्पनीले मूल्य कति बढाएर पठाउँछन् भन्नेमा भर पर्ने टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए।

‘भारतबाट के कति बढेर आउँछ भन्ने यकिन भएको छैन। अहिले हामी वेट एण्ड वाचको अवस्थामा छौं। उताबाट बढेर आए बढाउनै पर्छ। बढेर आए हामीले मात्रै थेग्न सक्दैनौं। मिड जनवरीतिर थाहा हुन्छ,’ सिजापतिले भने।