सन् २०२५ मा ५५ प्रतिशतले महँगियो सुन, २०२६ मा ५००० डलर प्रति औंस पुग्ला?



बिजमाण्डू
२०८२ पुष १७ गते ०६:०१ | Jan 1, 2026
सन् २०२५ मा ५५ प्रतिशतले महँगियो सुन, २०२६ मा ५००० डलर प्रति औंस पुग्ला?

जनवरी १, २०२५ मा सुनको मूल्य नेपालमा तोलाको १ लाख ५१ हजार रुपैयाँ थियो। त्यसबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६०७.०८ डलर थियो। एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय र स्थानीय बजारमा सुनको मूल्यमा व्यापक बढोत्तरी भएको छ।

Tata
GBIME
Nepal Life

गएको वर्ष सुनको भाउ सर्वाधिक उचाइमा पुग्यो। सन् २०२५ को अन्तिम दिन डिसेम्बर ३१ मा सुनको मूल्य तोलाको २ लाख ६१ हजार रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३३४.८८ डलर रह्यो।

एक वर्षको तुलना गर्ने हो भने नेपाली बजारमा सुनको मूल्य १ लाख १० हजार रुपैयाँ वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा सुनको मूल्य १ हजार ७२७ डलर वृद्धि भएको छ।

सुनको मूल्य बढ्ने ‘ट्रेन्ड’ सन् २०२६ मा पनि कायम रहने विश्लेषण गरिएको छ। वैश्विक राजनीतिक परिवेशका कारण सुनको ‘डिमान्ड एन्ड सप्लाई चेन’मा परेको प्रभावले नै सुनको मूल्य यो वर्ष थप उचाइमा पुग्ने अनुमान गरिएको हो।

सन् २०२६ मा कति पुग्ला सुनको मूल्य?

जेपी मोर्गन ग्लोबल रिचर्सका अनुसार सन् २०२५ मा सुनको मूल्य निरन्तर उकालो लाग्दै करिब ५५ प्रतिशतले वृद्धि भयो। अक्टोबरमा पहिलोपटक सुनको मूल्य प्रति औंस ४ हजार अमेरिकी डलर नाघेको थियो। अमेरिकी राष्ट्रपतिको कर नीतिका कारण विश्वभर व्यापार अनिश्चितता, विभिन्न देशबीच युद्ध, अमेरिकी डलरप्रतिको माग घट्नु तथा केन्द्रीय बैंकहरूको बढ्दो खरिदले सुनको मूल्यमा उछाल ल्याउन सघाएको जेपी मोर्गनको निष्कर्ष छ।

सन् २०२५ मा भारी वृद्धि भएको सुनको मूल्य सन् २०२६ मा कति पुग्ला भन्ने सर्वत्र चासो छ।

जेपी मोर्गनकी ग्लोबल कमोडिटिज रणनीति प्रमुख नताशा कानेभाले सुनको मूल्य थप बढ्न सक्ने संकेत गरेकी छन्। उनले सुनको मूल्यलाई उचाइमा पुर्‍याइरहेको आधारभूत प्रवृत्तिहरू अझै समाप्त नभएको भन्दै २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रति औंस ५ हजार डलरतर्फ पुग्ने अपेक्षा गरहेको बताएकी छन्।

जेपी मोर्गन ग्लोबल रिसर्चले २०२६ को अन्तिम त्रैमासमा सुनको औसत मूल्य प्रति औंस ५ हजार ५५ डलर रहने प्रक्षेपण गरेको छ। सन् २०२७ को अन्त्यसम्म सुनको मूल्य प्रति औंस ५ हजार ४०० डलरसम्म पुग्ने अनुमान गरिएको छ।

डेटा स्रोत : जेपी मोर्गन रिसर्च

कति छ सुनको माग?

जेपी मोर्गनले जनाएअनुसार हाल पनि लगानीकर्ता र केन्द्रीय बैंकहरूमा सुनको माग निरन्तर बढेको छ। र, यो सन् २०२६ मा पनि जारी रहनेछ। जेपी मोर्गनमा बेस एन्ड प्रिसियस मेटल स्ट्रटजी प्रमुख ग्रेगरी शियररले त्रैमासिक रुपमा लगानीकर्ता र केन्द्रीय बैंकको मागर सुनको मूल्यबीचको सम्बन्धलाई आधार मानेर मूल्य पूर्वानुमान गर्ने गरेको बताइन्।

अहिलेको अवस्था हेर्ने हो भने प्रत्येक त्रैमासमा कम्तीमा ३५० टन वा सोभन्दा बढीको सुनको माग भएमा मूल्य बढ्ने गरेको देखिएको छ। ३५० टनभन्दा प्रत्येक अतिरिक्त १०० टन मागले सुनको मूल्य प्रत्येक त्रैमानमा करिब २ प्रतिशतले बढ्छ।

सन् २०२६ मा प्रति त्रैमास करिब ५८५ टन सुनको माग रहने अनुमान गरिएको उनले बताइन्।

३ वर्ष लगातार एक हजार टनभन्दा बढी सुन खरिद गरेपछि पनि २०२६ मा केन्द्रीय बैंकहरूको सुन खरिद गर्न तम्सिएको रिपोर्टमा उल्लेख छ।  २०२६ मा केन्द्रीय बैंकहरूले मात्र करिब ७५५ टन सुन खरिद गर्ने अपेक्षा गरिएको छ। यो पछिल्ला ३ वर्षको १ हजार टनभन्दा कम भए पनि २०२२ अघिका ४००/५०० टनको औसतभन्दा धेरै हो।

सुनको मूल्य उच्च विन्दुमा पुग्दा पनि २०२५ को तेस्रो त्रैमासमा सुनको खरिदमा देखिएको उत्साहले सन् २०२६ मा पनि यसको माग उच्च नै रहने विश्वास रहेको शियररको विश्लेषण छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार अहिले विश्वभर केन्द्रीय बैंकहरूको सुन भण्डारण करिब ३६ हजार २०० टन पुगेको छर। जुन विश्वभर कुल आधिकारिक भण्डारको करिब २० प्रतिशत हो। २०२३ को अन्त्यसम्म यो संख्या करिब १५ प्रतिशत मात्र थियो।

ब्राजिलले सन् २०२५ को सेप्टेम्बरमा १५ टन र अक्टोबरमा थप १६ टन सुन खरिद गरेको रेकर्ड छ। कोरियाली केन्द्रीय बैंकले थप सुन खरिद गर्ने योजनाबारे सार्वजनिक रूपमा चर्चा गरिरहेको शियरर बताउँछिन्।

सुनको माग केन्द्रीय बैंकहरूलाई मात्र छैन। लगानीकर्ताबीच पनि पछिल्ला समय सुन किन्न तछाडमछाड चलिरहेको छ। सुनको मूल्य उच्च हुँदा पनि किन्ने ग्राहक घटेका छैनन्। सुन बजारको ‘फ्युचर्स पोजिसन’ अझै लामो अवधि चल्ने अवस्थामा रहेकोले लगानीकर्ताहरूले मूल्य थप बढ्ने अपेक्षामा रहेको अध्ययनको निष्कर्ष छ।

जेपी मोर्गनको अध्ययनअनुसार सन् २०२६ मा ‘इटीएफ’मार्फत २५० टन सुनमा लगानीकर्ताले लगानी गर्ने देखिएको छ। त्यस्तै, सुनका बार र सिक्काको माग वार्षिक १ हजार २०० टनभन्दा बढी रहने अनुमान गरिएको छ।

जेपी मोर्गनकी शियररले भनिन्, ‘पछिल्ला २ वर्षमा सुनको हिस्सा करिब एक प्रतिशतले बढेको छ। तर, आउने वर्षहरूमा यो ४ देखि ५ प्रतिशतसम्म पुग्न सम्भावना अझै छ।’

त्यस्तै, चिनियाँ बीमा कम्पनीदेखि क्रिप्टो क्षेत्रसम्मका नयाँ स्रोतहरूबाट पनि सुनको स्वामित्व दायरा विस्तार हुने सम्भावना देखिएको रिपोर्टमा भनिएको छ। सुनको मूल्य कहिले र कुन कारणले बढ्छ भन्ने ठ्याक्कै समय निर्धारण गर्न कठिन भए पनि सन् २०२६ मा सुनको माग अनुसार मूल्य प्रति औंस ५ हजार डलरतर्फ धकेल्न बलियो आधार रहेको उनको विश्लेषण छ।

विदेशी अमेरिकी सम्पत्तिको ०.५ प्रतिशत रकम मात्र सुनतर्फ स्थानान्तरण हुँदा सुनको मूल्य प्रति औंस ६ हजार डलरसम्म पुग्न सक्ने जेपी मोर्गनको निष्कर्ष छ। तर, सुन खानीमा उत्पादन विस्तार हुन नसक्नु र माग पनि बलियो नै रहिरहने भएकाले सुनको मूल्य अपेक्षा गरिएको उच्च लक्ष्यमा पुग्न भने जोखिम रहेको कम्पनीको भनाइ छ।