बौद्धस्थित हायात होटलमा मूल भवनको छानाबाट अहिले पनि घरिघरि टायलका टुक्राहरु झर्याम्म्म भुइँमा झर्छ। होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठ झसंग हुँदै छानातिर हेर्छन् अनि आँगनमा थुपारिएका डढेका फर्निचरतिर आँखा दौडाउँछन्। भर्याङ उक्लिँदा-ओर्लँदा उनले वर्षौंदेखि देख्दै आएका कलाकृति गायब छन्। बुट्टा कुँदेर सजाइएको सुन्दर लबीमा हिजोआज जलेका काठको थुप्रो छल्दै हिँड्नु उनको दैनिकी बनेको छ।
सुरेश उनै हुन् जसले एक एक इँटा जोड्दै हायात होटलको सुन्दर संरचना बनेको लगातार ३० वर्ष हेरिरहे। यहाँका भित्ताहरुमा सजाइएका एक एक कलाकृतिसँग जोडिए। यहाँको आर्किटेक्ट र डिजाइनसँग साटिए। सम्पदा र कलाकृतिप्रति विशेष लगाव रहेका कारण सुरेशले सुरुवातदेखि नै यहाँका प्रत्येक कलासंग्रहसँग अभिरुचिपूर्ण सम्बन्ध बनाए। कहाँ के राख्दा अझ विशेष हुन्छ भन्दै उनी मिहिन तरिकाले डिजाइनिङमा आबद्ध भएकैले पनि यहाँको हरेक भित्तासँग उनी संवेदना जोडिएको महसुस गर्थे।

विदेशमा पढेका छोराछोरीलाई नेपालमै काम गर्नुपर्छ भनेर बोलाएका सुरेशका सन्तान अहिले अन्योलमा छन्। भदौ २४ पछि छोराहरु नै हामी यहाँ नआएर विदेशमै करियर बनाएको भए हुन्थ्यो भनिरहेकाले सुरेशलाई त्यो चिन्ता पनि थपिएको छ।
भदौ २४ को आगजनी, तोडफोड र लुटपाटपछि होटल बन्द छ। कर्मचारीहरु सबैलाई बिदा गरिएको छ। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्टहरुसँगको गहन छलफलपछि व्यवस्थापकीय टिमलाई दुई महिना लाग्यो पुनर्निर्माणको खाका तयार पार्न। कसल्ट्यान्ट र कन्ट्रयाक्टरहरु पुनर्निर्माणमा जुटिसकेका छन्।
डेढ महिनादेखि यहाँ कामदारहरुको लर्को छ, कोही टुटेका सामान उठाउँदैछन् कोही नयाँ जोड्दै। भदौ २४ मा विध्वंसले हायात होटलभित्र ८५ देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
भदौ २४ पछि अरु जस्तै सुरेश पनि चरम निराशाको घेराभित्र पसे। तर, साढे तीन महिनामा उनले त्यो घेराबाट बाहिर निस्किएर आफैंलाई पुनर्निर्माणको बाटोमा डोर्याउन सिकिसकेका छन्। व्यवस्थापकीय जिम्मेवारीले मात्र होइन सुरेशले आफ्नो प्रोफेसनल करियरको पूरा ३० वर्ष यस होटललाई दिएकाले पनि भावनात्मक रुपले उनको होटलसँग विशेष लगाव छ।
संस्थापक लगानीकर्ताका रुपमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग जोडिएका उनी हाल कार्यकारी निर्देशकका रुपमा होटल सम्हालिरहेका छन्। उनै सुरेश आज जलेर कुरुप भएको हायातलाई टुक्रा-टुक्रा समेट्दै पनि छन्। ‘नसम्हालिनु र अघि नबढ्नुको विकल्प पनि त छैन। चुनौती त आइरहन्छन्। कि परिस्थितिसँग सरेन्डर गर्नुपर्यो कि समाधानको बाटो पहिल्याउँदै जानुपर्यो!’- थकित अनुहारमा हल्का मुस्कान दौडाउँदै उनले भने।
***
भदौ २४ को बिहानसम्म सुरेशले सोचेका पनि थिएनन् हायातमा यति ठूलो क्षति हुन्छ भनेर। बौद्धको भाटभटेनी स्टोर जलाएपछि त्यहीँबाट एउटा हुल हायातमा पस्यो भनेर होटलकै सुरक्षा टिमले उनलाई जानकारी दिए। यो दिउँसो ३/ ४ बजेतिरको कुरा थियो। सुरुमा २०/३० जनाको हुल भित्र पस्यो तर फर्केर गयो भन्ने जानकारी पाएपछि उनले ढुक्क माने। तर त्यो ब्रिफिङको एक घण्टा नबित्दै निकै ठूलो समूह होटलभित्र पस्यो।
पहिले त्यो समूह होटल परिसरको क्यासिनोभित्र छिर्यो। ठूलै समूह आएर क्यासिनोभित्र छिरेपछि त्यहाँ लुटपाट मच्चिएको सुरेशले बताए। त्यो समूहले क्यासिनोभित्रका सबै सामान फुटाए। पैसा लुटे।
‘लुट्ने सोचले पहिले क्यासिनो पसेका मानिसहरुले नै थप मानिस बोलाउन थालेछन्। पछि थाहा भयो क्यासिनो भित्रकै मानिस इन्भल्भ थियो लुटपाटमा जसलाई कहाँ के छ राम्रोसँग थाहा थियो।’- सुरेशका अनुसार क्यासिनोको ठूलो सेफ ल्याएर आँगनमा फोडेपछि होटलपट्टि त्यो टोली छिरेको थियो।
भित्र पस्नेहरुको पहिलो इन्टेन्सन नै लुट थियो। आत्तिएर बसेका पर्यटकहरुको सरसामान लुटपाट भयो। यहाँका पसलका सबै सामान लुटे। भित्तामा राखिएका महंगा कलाकृतिहरु लुटे। हुलदंगा र लुटपाटसँगै उत्तेजित हुँदै उनीहरुले यहाँ आगो लगाएर हिँडेका हुन्।



जतिबेला होटलभित्र त्यो आपराधिक समूह पस्यो, त्यो समय होटलमा ठूलै संख्यामा भारतीय पर्यटकहरु बसिरहेका थिए। उनीहरुको मानसरोवर ट्रिप जाने तयारी थियो। हिड्ने बेला भएकाले लबीमा उनीहरुको दुई सयभन्दा बढी सुटकेस राखिएको थियो।
लुटेराहरुले सुरुवात नै ती सुटकेसहरु फुटाउनबाट गरे। सुटकेस फुटाउँदै त्यसभित्रका सामान लुट्न थालेपछि होटलमा आतंक फैलियो। डर र त्रासका बीच चौथो तलाबाट एक भारतीय पर्यटकले हाम फाल्दा घटनाले अझ दुखद मोड लियो। आतंकित हुँदै हाम फालेका ती पर्यटकको ज्यान जानु हायात ब्राण्डको अन्तर्राष्ट्रिय छविमा निकै ठूलो ठेस थियो।
लबीमा रहेका गहना पसलहरुको सेल्फ र दराजका शिशा फुटाउँदै एक एक सामान लुटियो। सुरेश भन्छन् –‘भित्र पस्नेहरुको पहिलो इन्टेन्सन नै लुट थियो। आत्तिएर बसेका पर्यटकहरुको सरसामान लुटपाट भयो। यहाँका पसलका सबै सामान लुटे। भित्तामा राखिएका महंगा कलाकृतिहरु लुटे। हुलदंगा र लुटपाटसँगै उत्तेजित हुँदै उनीहरुले यहाँ आगो लगाएर हिँडेका हुन्।’ उनी होटलको भौतिक क्षतिभन्दा त्यस दिन पर्यटकहरुले भोगेको सन्त्रास र मानवीय क्षति सम्झिएर बढी बिचलित हुन्छन्।
भदौ २५ मा यहाँ आइपुग्दा उनलाई सम्हालिनै गाह्रो भयो। भदौ २४ मा भएको लुटपाटका घटनाको फुटेज सीसीटीभीमा पटक-पटक हेरे ।

ब्राण्ड लेभल बढाउनका लागि योजना बन्दै थियो। अचानक यो भैदियो। अब फेरि यस्ता प्रोपर्टीहरु टार्गेटमा पर्दैनन् भन्ने ग्यारेन्टी होला र?


‘यो हेर्दा देख्दा त आँखामा आँसु नै आउँछ। मेरो एकसाइडको ब्रेनभित्र नैराश्यता छ तर अर्को साइडले भन्छ २५/३० वर्ष त समस्या भोगेरै आको हो। अब अर्को समस्याका रुपमा यो आइदियो। अब यसलाई चिरेर अघि बढ्नुपर्छ। यो किसिमको मनोबलले हामी अघि बढ्न, केही गर्न खोजिरहेका छौँ।’-उनले भने।
***
सार्वजनिक-निजी साझेदारी मोडेलअन्तर्गत २०४९ सालमा स्थापना भएको हायात होटल नेपालका प्रमुख पाँचतारे होटलमध्येको एक हो। एसियाली विकास बैंकले नीतिगत परिवर्तन नै गरेर नेपालमा निजी क्षेत्रमा पहिलोपटक लगानी गरेको प्रोजेक्ट पनि यही नै थियो। भलै एसियाली विकास बैंकले आफ्नो सेयर हिस्सा बेचेर बाहिरिइसकेको छ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि तारागाउँ रिजेन्सी परियोजना सफल पारेर देखाउन सुरेश पटक-पटक आफैं मनिला पुगेर लगानीको लागि एडीबीको बोर्डलाई कन्भिन्स गराएको सम्झन्छन्। उनका अनुसार स्थापनाताका होटललाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपाली मौलिक सम्पदा समावेश गरेर आजको स्वरुप दिनका लागि नौजना डिजाइन कन्सल्ट्यान्ट राखिएको थियो।
‘होटल स्थापनाकालदेखि नै बिभिन्न समस्यासँग जुध्दै यहाँसम्म आएको हो। यो त सरकारी सम्पत्ति हो, जसमा निजी साझेदार र सर्वसाधारणको सेयर छ। पहिले समस्या भोगिरहेकोमा पुराना समस्या हल हुन्छ कि भन्ने आसले अघि बढिरहेका थियौं। हामी स्तरोन्नतिको कुरा गरिरहेका थियौं। ब्राण्ड लेभल बढाउनका लागि योजना बन्दै थियो। अचानक यो भैदियो। अब फेरि यस्ता प्रोपर्टीहरु टार्गेटमा पर्दैनन् भन्ने ग्यारेन्टी होला र?’- उनी हाल व्यावसायिक क्षेत्रमा देखापरेको संकट र द्विविधातर्फ संकेत गरिरहेका थिए।

सुरेशले हायातकै परिसरमा आफ्नो ऊर्जाशील समय र करियरको तीन दशक बिताइसके। उनले त आफ्ना सन्तानको भविष्य पनि यही खोज्न थालिसकेका थिए। विदेशमा पढेका छोराछोरीलाई नेपालमै काम गर्नुपर्छ भनेर बोलाएका सुरेशका सन्तान अहिले अन्योलमा छन्। भदौ २४ पछि छोराहरु नै हामी यहाँ नआएर विदेशमै करियर बनाएको भए हुन्थ्यो भनिरहेकाले सुरेशलाई त्यो चिन्ता पनि थपिएको छ।
अझ मुख्य त उद्यम र व्यापार गर्ने वर्गलाई नकारात्मक रुपमा चित्रण गर्ने अवस्थाले दोस्रो पुस्ता बढी चिन्तित बनेको उनले बुझेका छन्।
‘देश भनेको जनता हो। हामी न जनताको दृष्टिकोणमा राम्रो छविमा बस्न सकेका छौं। विडम्बना देशको ८० प्रतिशत इकोनोमीमा योगदान दिने क्षेत्रलाई चोर भनिएको छ। यो कस्तो प्याराडक्स हो?’- उनी प्रश्न गर्छन्।
सुरुमा होटल बनाउँदा लबीमा राखिएका काठका खम्बाहरुमा बुट्टा कुँद्न नै बढी समय लागेको थियो। ती काष्ठकलाका नमुना सबै जलेका छन्। लबीमै बनाइएको चोकमा राखिएका चैत्यहरुमध्ये एउटामा मात्र क्षति भएको छ। शायद ‘देउता’ सम्झेर सबै चैत्य फुटाउनतिर लागेनन् कि!

उनको परिवारभित्र मुख्य विषयकै रुपमा छलफल यसैमा चलिरहेको हुन्छ आजकल। छोराछोरी बरु विदेशमै करिएर बनाएको भए हुन्थ्यो भन्न थालेका छन्। सुरेश त यहीँ हुर्केबढेका देशको अवस्थाको जानकार हुँदै यो उमेरमा आइपुगे। तर सानैदेखि विदेशमा पलेबढेका, उतैको शिक्षा पाएका सन्तानहरु देशमा फर्किनुले उत्साह दिनुपर्नेमा उनीहरुमा दुविधा र तनाव थपिदिएपछि सुरेश यहीँ समाधान खोज्नुपर्छ भनेर उनीहरुलाई फकाइरहेका छन्।
सुरेश भन्छन्- ‘असाध्यै अन्योलमा छ सेकेन्ड जेनरेसन। हाम्रो पुस्ताले ५० वर्ष काम गर्यौ अब त रियाटरमेन्ट लिनुपर्छ भन्ने उमेरमा छौं। तर लिन सक्ने अवस्था छैन। दोस्रो पुस्ता डिसहार्टेन छ। डाउटफुल छ। केही सानोतिनो काम गर्नुपर्ने भयो भने सरकारी कार्यालयमा समयमै काम नहुने प्रवृत्तिले उनीहरु अझ बढी फ्रस्ट्रेटेड हुन्छन्। भदौ २४ जस्ता घटनाहरुले त उनीहरुलाई पूरै बिचलित बनाइदिएको छ।’

सुरेश नयाँ पुस्तालाई अझ बढी उत्प्रेरित गर्नुपर्ने अवस्था देख्छन्। नेपालमा मात्र होइन समस्या जहाँसुकै छ। अरु देशमा अरु किसिमको अप्ठेरा होलान् । यहाँको भिन्न होला। तर नेपालमै कामलाई बढी प्रोफेसनल बनाउँदै अघि बढ्न सकिन्छ भनेर आफूले सन्तानलाई सम्झाइरहेको उनले बताए।
‘यहीँ काम गर्दै, सिक्दै, समस्या झेल्दै अघि बढ्नुपर्छ। नेपालमा अवसर नभएको होइन। हरेक क्षेत्रमा चुनौती र अवसर छ। हामीले देखिराखेका छौं, बनिराखेको पनि छ। तर जे बनेको छ त्यो भन्दा धेरै गुना बढी गर्न सकिने सम्भावना भएको देश हो यो। सरकारको रोल जे हुनुपर्ने त यो नभएको कारणले मात्र यो अवस्थामा छौं।’- सुरेश भन्छन्- ‘नेपालमा काम गर्न गारो छ तर असम्भव त होइन।’
होटलको पुनर्निर्माणपछि ९० प्रतिशत पुरानै डिजाइन कायम हुने उनले बताए। हाल तीनजना विदेशी कन्सल्ट्यान्टले फुलटाइम काम गरिरहेका छन् भने मेकानिकल र इलेक्ट्रिकलतर्फका तीन-चार टोलीहरु चौबिस घण्टा खटिइरहेका छन्। होटलका तीन सयभन्दा बढी कोठामध्ये अधिकांश नयाँ बन्ने चरणमा गइसकेको छ।
‘सामान्यतया अन्तर्राष्ट्रिय मापदण्डअनुसार हरेक १० देखि १५ वर्षमा पाँचतारे होटलहरु रिनोभेसनमा जानुपर्छ। हाम्रो यहीँभित्रको समस्याका कारण हामी पहिले नै रिनोभेसनमा जान सक्ने अवस्था थिएन। जे हुनु नराम्रो भइसक्यो। प्रतिशोध नराखी मौका भनेर पुनर्निर्माणमा लागेका छौं हामी। निर्माण सम्पन्न गर्दा आइकोनिक फ्ल्यागसिपका रुपमा नेपालको यस्तो होटल बनाउनेछौं जो न पहिले बनेको थियो, न पछि फेरि यस्तो होटल आउला भन्ने हिसाबले हामी काम गर्छौं।’- सुरेशले आत्मविश्वासका साथ बोले।
सुरुमा होटल बनाउँदा लबीमा राखिएका काठका खम्बाहरुमा बुट्टा कुँद्न नै बढी समय लागेको थियो। ती काष्ठकलाका नमुना सबै जलेका छन्। लबीमै बनाइएको चोकमा राखिएका चैत्यहरुमध्ये एउटामा मात्र क्षति भएको छ। शायद ‘देउता’ सम्झेर सबै चैत्य फुटाउनतिर लागेनन् कि!
कसैले उद्यम गर्नु, नयाँ आइडिया वा प्रविधिमा काम गर्दा १८ घण्टा कोही खटेर पैसा कमाउनु र एउटा स्तरमा पुग्नु चैं अपराध जस्तो भैदियो।

अत्यधिक रसायन प्रयोग गरी आगो लगाइएकाले सिलिङमा नराम्ररी क्षति पुगेको छ। सिलिङमा राखिएको डक्ट एरिया भित्रबाट सबै जलेको छ। आगो लाग्नासाथ फायर फाइटिङ सिस्टमले काम गरे पनि सिस्टम सबै बिग्रिएकाले फायर फाइटिङ सिस्टम पनि नयाँ राखिँदैछ। होटलका २० प्रतिशत कोठाहरु जलेका छन् भने ४० प्रतिशत शिशा फुटेका छन्। होटलको कमान्ड सेन्टर, अटोमेसन कन्ट्रोल सिस्टम प्यानलहरु सबै जलेको छ।
मुख्य रुपमा होटलको कन्ट्रोल रुम रहेको बिजनेस सेन्टरलाई अत्यधिक क्षति पुर्याइएकाले अधिकांश ठाउँहरुको पुनर्निर्माण जरुरी भएको सुरेशले जानकारी दिए। जति जोगाउन सकिन्छ ती सबै जोगाएर बिग्रेका चीजहरु बनाउने गरी अबको डिजाइन तयार गरिएको छ।
***
सुरेशलाई लाग्छ कमाइ गर्ने वर्गप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्नुले नै ठूला प्रोपर्टीहरु तारो बनिरहेको छ। नकारात्मकतालाई बढावा दिने अनि व्यापार गर्नेहरु भनेकै नाफाखोरमात्र हुन्, जनताको दुश्मन हुन् भन्ने भाष्य बन्दा समग्र उद्यम क्षेत्र अन्यायमा परेको महसुस उनलाई भएको छ।
उनी भन्छन्- ‘कसैले उद्यम गर्नु, नयाँ आइडिया वा प्रविधिमा काम गर्दा १८ घण्टा कोही खटेर पैसा कमाउनु र एउटा स्तरमा पुग्नु चैं अपराध जस्तो भैदियो। फ्रड गरेर कमाएर आयो भन्ने सोच्ने। त्यसमाथि राजनीति र ब्युरोक्रेसीले पनि बिजनेसम्यानलाई फ्रेम गरेर बोल्ने प्रवृत्तिले व्यापारी वर्गप्रति यो नकारात्मकता निर्माणमा मलजल गरिरहेका छन्। व्यापारी भनेकै जनताको दुश्मन हो, नाफाखोर हो जनताको पसिनालाई एक्सप्लोइट गर्ने हो भन्ने भाष्य बलियो बन्दा हामी अन्यायमा परेका छौं।’
सुरेशलाई हायात जलेको दृश्य जति सम्झियो उति निराश बनाउँछ। तर उनको स्वभाव अनुसार यसमा नकारात्मकता हावी हुन दिँदैनन्। उनी अब बन्ने हायातको चित्र सम्झन्छन्। बनेपछिको सुन्दर दृश्यले उनलाई काम गर्ने हौसला दिन्छ।
दुःखको पाटो हटाउने भनेकै भोलिका दिनको सुन्दर चित्रले हो। अब यहाँ यस्तो यस्तो बन्छ भन्ने पोजेटिभ भिजुअलाइजेसनले ड्राइभ गरिरहेको छ।



होटलमा डेढ महिना अघिदेखि निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। हाल कोठाहरु बनिरहेका छन्। होटलका ८० प्रतिशतभन्दा बढी रुम भत्काएर नयाँ किसिमले बनिरहेको उनले जानकारी दिए। पुरानो भनेको झ्यालहरुमात्र बाँकी छन्। पछि केही समस्या नआओस् भनेर ‘कम्प्लिट रिपेयर’ भइरहेको उनले बताए।
आगामी वर्षको डिसेम्बर दोस्रो सातासम्म होटल संचालन गरिसक्ने सुरेशले लक्ष्य राखेका छन्।
एक वर्षभित्र सबै काम सकिन्छ भन्ने आत्मविश्वास उनमा छ। नियन्त्रण बाहिरका कुरा भएनन् भने सेड्युल अनुसार नै होटल संचालन गर्न सकिने उनी दोहोर्याए।

उनले स्वाभाविक र सकारात्मक लवजमा भने- ‘जे हुनु भैगयो। हामी रिकन्स्ट्रक्सन प्रोसेसमा छौं। यो बनिसकेपछि पहिलेको भन्दा पनि राम्रो हुनेछ भनेर मैले अहिले सामना गरिरहेको अप्ठेरो अवस्था बहन गरिरहेको छु। दुःखको पाटो हटाउने भनेकै भोलिका दिनको सुन्दर चित्रले हो। अब यहाँ यस्तो यस्तो बन्छ भन्ने पोजेटिभ भिजुअलाइजेसनले मलाई ड्राइभ गरिरहेको छ।’











