कर तिर्न र दसैंलाई खर्च जोहो गर्नतिर लागे लगानीकर्ता, मुक्तिनाथको सेयरमा किन झुम्मिए? 

बिजमाण्डू
२०७७ असोज २६ गते १५:३२ | Oct 12, 2020
कर तिर्न र दसैंलाई खर्च जोहो गर्नतिर लागे लगानीकर्ता, मुक्तिनाथको सेयरमा किन झुम्मिए? 

Tata
GBIME

काठमाडौं। अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार सुरुदेखि नै ओर्लिँदो क्रममा थियो। तर, केही समयपछि बजार सम्हालिएर उक्लिन थाल्यो। अन्ततः बजार १.७४ अंकले बढेर बन्द भएको छ।

बजारमा सुस्तता देखिएपछि आइतबारजस्तो सोमबार धेरै कारोबार हुन सकेन। आइतबार २ अर्ब ३९ करोडको कारोबार भएकोमा सोमबार एक अर्ब ९४ करोडको मात्र किनबेच भएको छ।

लगानीकर्ता र ब्रोकरहरुका अनुसार, सेयर लगानीकर्तालाई 'फेस्टिभ मुड' सुरु भइसकेको छ। अब अधिकांश लगानीकर्ता नाफा बुकतर्फ लागेका छन्। जसले गर्दा बेच्नेहरु बजारमा बढि सक्रिय देखिन थालेका छन्। 

जलविद्युत, फाइनान्सका लगानीकर्ताहरु नाफा बुकतर्फ लागेका छन्। पछिल्लो डेढ महिनामा जलविद्युतका लगानीकर्ताले एक करोड लगानी गरेको भए अहिले दोब्बर कमाइसकेका छन् भन्ने बुझाइ ब्रोकरहरुको छ। यही कारण पनि अहिले नाफा बुकतर्फ ती लगानीकर्ता लागेको एक ब्रोकरले जानकारी दिए।

वाणिज्य बैंक, होटल, ब्यापार, विकास बैंक र लघुवित्त सूचक बढेको छ। बाँकी घटेको छ। बीमा समूह घटेका छन्।

मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन्। सर्वाधिक कारोबार पनि मुक्तिनाथको भएको छ। बैंकको १६ करोड ५० लाखको सेयर कारोबार भएको छ। ब्रोकरहरुका अनुसार, मुक्तिनाथले पहिलो त्रैमासमा ४० रुपैयाँ प्रति सेयर आम्दानी पुर्‍याउने हल्ला चलेको छ। साथै ऋणपत्र जारी गरेर स्रोत परिचालनको पनि चर्चा ब्यापक छ। छिटपुट रुपमा वाणिज्य बैंकसँग मर्जरको हल्ला पनि चलिरहेको छ। त्यही कारण मुक्तिनाथको सेयर सर्वाधिक कारोबार भएको हो।

मुक्तिनाथपछि बढी कारोबार भएको अरुणभ्यालीको सात करोड ७१ लाखको सेयर किनबेच भएको छ। 

ब्रोकरका अनुसार, ब्याज तिर्नका लागि पनि अहिले लगानीकर्ताले सेयर बेच्न थालेका छन्। असोज महिनामा सरकारलाई राजस्व बुझाउनु पर्छ। बैंक ब्याज पनि बुझाउनु पर्ने छ।